काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरु कार्यालय समयमा नभएको पाइएमा कारबाही गर्ने तयारी गरेको छ।
मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई भनेका छन्।
उनले यसअघि नै व्यवस्था गर्न भनिएको विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत अधिकारीहरुलाई भनेका थिए।
मन्त्री पौडेलले नियमित रुपमा हेल्लो स्वास्थ्यमा आएका गुनासाहरु सुन्दै सुधारका लागि अधिकारीहरुको ध्यानाकर्षण गराउँदै आएका छन्। यसलगत्तै मन्त्रालयले मातहतका सबै अस्पतालहरुमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको छ।

