२०८३, आश्विन २१ गते

images

धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री

धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री

मंगलवार, पौष ९ २०८१०४:१४
मंगलवार, पौष ९ २०८१०४:१४
  • images

    काठमाडौं । पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ। यस अवधिमा प्रवेश शुल्कबापत् ५५ लाख रुपैयाँ  संकलन भएको छ। गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको हो।

    कामु आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक एक हजार दुई सयले धरहरा चढ्ने गरेको जानकारी दिए। ‘९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन्। जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्यांक राख्ने गरिएको छैन’, उनले भने, ‘बिहान साँढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ। छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो।’ पछिल्लो समय छिमेकीमूलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन्।  
      
    धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको हो। गत मंसिर ६ गतेको मन्त्रीपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो। 


    यहाँ पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ। धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ। व्यावसायिक भिडियो छायांकनका लागि प्रतिघण्टा ५ हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार ६ रुपैयाँ निर्धारण गरिएको छ।रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend