काठमाडौँ । गाउँपालिकाका अध्यक्षले आफु अध्यक्ष रहेको कृषि कम्पनीमा नियम विपरित दुई पटक रकम विनियोजन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।
आयोगले सर्केगाड गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित ९ जना विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा कोइलिङ कृषि तथा पशुपालन फर्मका प्रोपाइटर कृष्ण रोकाय आफै रहेको अख्तियारले जनाएको छ ।
उनीहरु विरुद्ध गाउँपालिकाका अध्यक्षले आफ्नो मान्छेलाई थारी कोइलिङ पशुपालन उपभोक्ता समितिको अध्यक्ष बनाई एउटै आर्थिक वर्षमा दुई पटक रकम विनियोजन गरी भुक्तानी दिएकोमा कुनै कामसमेत नभएको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
आयोगले आईतबार हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही,सव ओभरसियर पदम बहादुर धामी, लेखापाल पूर्ण प्रसाद आचार्य विरुद्ध मुद्दा दायर भएको हो ।
यस्तै, योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंश रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकाया विरुद्ध मुद्धा दायर भएको हो ।
उनीहरु विरुद्ध १९ लाख ५० हजार रुपैयाँ विगो दाबी गर्दै अख्तियारले मुद्धा दायर गरेको छ ।

