२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बाढी र पहिरोबाट बच्न कस्ता कुरामा...

बाढी र पहिरोबाट बच्न कस्ता कुरामा ध्यान दिनुपर्छ ?

बाढी र पहिरोबाट बच्न कस्ता कुरामा ध्यान दिनुपर्छ ?

सीएनएन खबर
सोमवार, आषाढ २४ २०८१११:४४
सीएनएन खबर
सोमवार, आषाढ २४ २०८१११:४४
  • images

    काठमाडौँ । नेपालमा गत साताको अन्त्यदेखि जारी देशव्यापी वर्षाका कारण बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपमा परेर कैयौँको ज्यान जानुका साथै सयौँ विस्थापित भएको विवरणहरू आएका छन् ।

    बाढी र पहिरोकै कारण कैयौँ चौपाया मर्नुका साथै घरगोठ र खेतियोग्य जमिन पनि नष्ट हुन पुगेको अधिकारीहरूले बताएका छन् । विज्ञहरू चाहिँ पूर्वसावधानीका अपनाउन सकेमा यस्ता विपद्बाट जोगिन र क्षति कम गर्न सकिने बताउँछन् ।

    उनीहरूले त्यसका लागि जोखिमयुक्त ठाउँमा बसोबास गर्नेहरू वर्खायाम र अन्य बेलासमेत आसपासका गतिविधिमा चनाखो र सजग भइरहनु पर्ने सुझाव दिएका छन् ।

    त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा विपद् अध्ययन संस्थानका निर्देशक वसन्तराज अधिकारीले नेपालको जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बुलेटिनले सजग हुनका लागि एउटा आधार दिने बताए ।

    त्रिभुवन विश्वविद्यालयकै अर्का भू–विपद् विज्ञ एवं भूगर्भशास्त्रका सहप्राध्यापक रञ्जनकुमार दाहाल पनि जोखिम हुन सक्ने सम्भावित ठाउँमा वर्षा याम अघिदेखि सम्भावित विपद् टार्ने केही तयारी गर्न सकिने र त्यसका केही सङ्केतहरू समेत हुने बताउँछन् । 

    पहिरोका सङ्केत

    पहिरोविज्ञका रूपमा परिचित रञ्जनकुमार दाहालले भिरालो भेगमा बस्नेहरूले घरको नजिक भल काट्ने काम नभएका भए त्यसो गरेर पानी जम्न दिन नहुने बताउँछन् ।

    त्यसले त्यस्ता ठाउँमा हुने थप सुरक्षाका उपायलाई भरपर्दो बनाउने उनको भनाइ छ । दीर्घकालीन तयारीसँगै कतिपय अवस्थामा घटना हुनुभन्दा केहीअघि आउने सङ्केतले समेत ज्यान जोगाउन केही समय दिने सहप्राध्यापक दाहालको भनाइ छ ।

    ‘त्यसबाहेक राती सुतिरहँदा जमिन थर्कने र कटकट आवाज आउनेजस्ता सङ्केतले समेत पहिरो आउन लागेको जनाउ दिन्छ’, उनी भन्छन् । ‘मूल फुटेर धमिलो पानी आइरहेको अवस्था कतै देखा परेमा समेत त्यहाँ पहिरो जाँदैछ भन्ने बुझ्नुपर्छ ।’

    आसपासमा स–साना पहिरो धेरै जाँदा समेत ठूलो पहिरोको लागि भू–अवस्थिति बन्न सक्ने र कतिपय अवस्थामा ठूलो पहिरोको सङ्केत हुने हुनाले तिनको नियन्त्रण सानै स्वरूपमा गर्न थाल्नुपर्ने विज्ञहरूको मत पाइन्छ ।

    ‘आसपासमा रूख ढल्किँदा वा बारीका कान्लामा साना पहिरो जान थाल्दा त्यसलाई जनाउका रूपमा बुझेर सजग हुनुपर्छ ।’ 

    इञ्जिनियरिङ अध्ययन संस्थानका वसन्तराज अधिकारीले विगत वर्षमा समेत पहिरो गएका ठाउँ र हालसम्म चिराहरू देखा परेका ठाउँमा पहिरोको जोखिम उच्च हुने बताए ।

    उनले भने, ‘त्यस्ता ठाउँमा अलिअलि पानी पर्दा समेत पहिलेका चिरा परेका ठाउँ जोखिमयुक्त हुन्छन् ।’

    बाढीबाट कसरी बच्ने ?

    ठूलो खोलामा सानो खोला मिसिएको स्थानमा साना खोलामा अकस्मात् पानी घटेको अवस्थामा माथिल्लो तटीय भेगमा खोला थुनिएको रूपमा बुझ्नुपर्ने दाहाल बताउँछन् ।

    त्यस्तो अवस्थामा तलपट्टिका भागमा अचानक ठूलो बाढी आउने जोखिम हुने हुँदा सुरक्षित स्थानतर्फ गएर सम्बन्धित अधिकारीहरूलाई खबर गर्नुपर्ने उनको भनाइ छ ।

    अधिकारी चाहिँ खोलामा एकाएक धमिलो पानी देखिए वा लेदोको मिश्रण देखिए बाढी आउने सङ्केतका रूपमा बुझ्नुपर्ने बताउँछन् ।

    ‘मुख्य कुरा त आसपास वा माथिल्लो तटीय क्षेत्रमा पानी नै कति परिरहेको छ भन्ने थाहा पाउनुपर्छ,’ अधिकारी भन्छन्, ‘लगातार वर्षा भइरहेका बेला अचानक भेल बाढी आउने जोखिम हुँदैन । तर कहिलेकाहीँ वर्षाको अनुपातमा खोलामा पानीको बहाव नभएजस्तो लागेमा त्यसप्रति चनाखो हुनुपर्छ ।’

    पछिल्लो समय सरकारी बुलेटिन, एसएमएसबाट आउने चेतावनी वा सञ्चारमाध्यमले दिने समाचार पूर्वजानकारीका लागि निकै उपयोगी हुने गरेका विज्ञहरू बताउँछन् ।

    मुख्यतः बाढीहरू तीन प्रकारका छन् :

    अचानक आउने बाढीः व्यापक वर्षाका कारण पानीको तह एक्कासी बढ्दा नदी, खोला, खोल्सा, खहरे र अन्य पानी बग्ने माध्यमहरूमा व्यापक पानीको मात्र भई त्यो बाहिर निस्कँदा यस्तो खालको बाढी आउन सक्छ ।

    नदीबाट आउने बाढीः व्यापक वर्षा वा तीव्र गतिमा हिउँ पग्लिएर वा हिमताल फुटेर र हिमपहिरोका कारण नदीमा पानीको मात्रा बढ्न गई त्यो बस्तीतिर पस्दा यस्तो खालको बाढी आउन सक्छ ।

    तटीय बाढीः उष्णतटीय चक्रवात र सुनामीका कारण यस्तो खालको बाढी आउने गर्छ । तर नेपाल समुद्रसँग नजोडिएकाले यस्तो बाढीको सम्भावना निकै न्यून हुन्छ ।

    बाढी र पहिरोका बेलामा तपाईँले निम्न काम गर्नुपर्छ ?

    यदि व्यक्तिगत सुरक्षामा कुनै खतरा महसुस भयो भने विलम्ब नगरी आपत्कालीन सेवा दिने निकायलाई फोन गरिहाल्नुहोस् ।

    बाढीको पानीमा नहिँड्नुहोस्, पौडी नखेल्नुहोस् । केवल ६ इन्च अग्लो तीव्र गतिमा बगिरहेको पानीले तपाईँलाई लडाउन सक्छ भने दुई फिट पानीले कारलाई बगाउन सक्छ ।

    नदी किनारमा नहिँड्नुहोस् 

    बाढीको पानी नचलाउनुहोस्। ढल मिसिएर यो दूषित भएको हुन सक्छ। यदि तपाईँले त्यस्तो पानी छुनु भयो भने सफा पानीले आफ्नो हात र लुगा राम्ररी धुनुहोस् ।

    बालबालिकालाई बाढीको पानीमा वा त्यसको नजिकै खेल्न नदिनुहोस् ।

    पहिरो जानसक्ने संवेदनशील क्षेत्रमा नजानुहोस् ।

    बाढी वा पहिरो आएको स्थानमा हेर्नका लागि नजानुहोस् त्यो जोखिमपूर्ण हुनसक्छ । 

    बीबीसी नेपालीको सहयोगमा

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend