२०८३, आश्विन २१ गते

images

ग्लोबल आईएमई बैंकको १८ वर्षे यात्रा : चुक्तापुँजी ३६ अर्बभन्दा बढी, जगेडामा २५ अर्ब २७ करोड

ग्लोबल आईएमई बैंकको १८ वर्षे यात्रा : चुक्तापुँजी ३६ अर्बभन्दा बढी, जगेडामा २५ अर्ब २७ करोड

आइतवार, पौष १४ २०८११०:१६
आइतवार, पौष १४ २०८११०:१६
  • images

    काठमाडौं । ग्लोबल आईएमई बैंक व्यावसायिक रूपमा सञ्चालनमा आएको यही पुस १८ गते १८ वर्ष पूरा हुँदै छ । १८औँ वर्षको यो यात्रामा बैंकको चुक्तापुँजी गत आर्थिक वर्ष २०८०/०८१ को अन्त्य (असार मसान्त) सम्ममा ३६ अर्ब १२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । उक्त अवधिसम्म बैंकले जगेडा तथा कोषहरूमा २५ अर्ब २७ करोड ८४ लाख रुपैयाँ जम्मा गरेको छ ।

    चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमाससम्म बैंकको निक्षेपमा २४ अर्ब ५१ करोड रुपैयाँले वृद्धि भई पाँच खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । कर्जा लगानीतर्फ २७ अर्ब ८६ करोड रुपैयाँले वृद्धि भई चार खर्ब १८ अर्ब ६३ करोड रुपैयाँ पुगेकोे छ । चालु वर्षको प्रथम त्रैमास अवधिमा बैंकले एक अर्ब ५१ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।

    चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तमा बैंकको निष्क्रिय कर्जा ४.६७ प्रतिशत कायम भएको छ । बैंकले कर्जा असुलीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडि बढ्नुपर्ने अवस्था रहेकोले त्यसलाई प्रभावकारी रूपमा बैंकले अगाडि बढाएको जानकारी दिएको छ ।

    आर्थिक वर्ष २०८०/०८१ मा बैंकको खुद व्याज आम्दानी गत वर्षभन्दा २५ करोड रुपैयाँले कमी भएको छ भने फि शुल्क तथा सञ्चालन आम्दानीमा भने एक अर्ब १२ करोड ७७ रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, सञ्चालन खर्चतर्फ एक अर्ब आठ करोड ४६ लाख रुपैयाँले वृद्धि भएको छ ।

    समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५ करोड ६९ लाख रुपैयाँले कमी आएको छ । कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षा अनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद मुनाफामा संकुुचन आएको बैंकले जनाएको छ ।

    यस आर्थिक वर्षमा बैंकको कुल कर्जा ४.३८ प्रतिशत तथा निक्षेपमा १४.९२ प्रतिशतले बढोत्तरी भएको बैंकले जनाएको छ । निक्षेपका दरहरूमा उल्लेखनीय रूपमा कमी आए पनि आकार बढ्दा र कर्जाको न्यून बढोत्तरीले खुद ब्याज आम्दानीमा प्रत्यक्ष असर पुर्‍याएको छ । यसको अतिरिक्त गत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कर्जा असुलीमा केही समस्या देखिएकोले थप कर्जा नोक्सानीको व्यवस्था गर्नु परेको कारण सञ्चालन मुनाफामा कमी आएको छ । सञ्चालन आम्दानीको बढोत्तरी तथा सञ्चालन खर्चमा गरिएको नियन्त्रणले मुनाफालाई सन्तुलनमा राख्न टेवा पुर्‍याएको छ ।

    आगामी दिनमा ग्राहकहरूलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, शेयरधनीहरुलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रिणी बैंकको रूपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरू सञ्चालन गर्ने बैंकले जनाएको छ । बैंकले भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिङले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुको साथै बैंकको मानव संशोधनको लागत समेत घट्न जाने विश्वास लिएको छ । त्यसैगरी आधुनिक प्रविधिमा आधारित व्यावसायिक सेवाबाट बैंकको दीर्घकालिन मजबुतीकरणमा मदत पुगी सेयरधनीहरूलाई उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति दिलाउने अपेक्षा गरिएको छ ।

    नेपाल राष्ट्र बैंकले अंगीकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था यस बैंकमा समाहित छन् । यसरी विभिन्न पृष्ठभूमिबाट आएका कर्मचारीहरूको उचित व्यवस्थापन एवम् व्यावसायिक दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिमा टेवा हुने गरी कार्यक्रमलाई निरन्तरता दिइने बैंकले जनाएको छ ।

    बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, वेष्ट इन्टरनेट बैंक २०१६, सन् २०२२ मा यूरोमनी अवार्ड, द वेष्ट बैंक इन नेपाल, वेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफूलाई स्थापित गरिसकेको छ ।

    मुलुकले अवलम्बन गरेको वित्तीय नीतिबमोजिम समग्र कर्पोरट क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विकास गर्दै लैजान अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त मोडिज इन्भेष्टर्स सर्भिसबाट यो बैंकको सार्वभौम साख मूल्यांकन गराउने प्रकृया अगाडि बढाइएको छ । बैंकका विभिन्न वित्तीय सूचक एवम् सुशासनको अबस्थाको मूल्यांकन गरेर गरिने सार्वभौम साख मूल्यांकन (क्रेडिट रेटिङ) बाट बैंकको अन्तर्राष्ट्रिय साख थप विस्तार हुने विश्वास लिइएको जनाइएको छ ।

    बैंकको ग्राहक संख्यामा निरन्तर वृद्धि भइरहेको छ । हाल यस बैंकको निक्षेप ग्राहक संख्या करिब ५० लाखभन्दा बढी पुगेको जनाएको छ । मर्जर तथा व्यवसायको निरन्तर विस्तारको कारण वृद्धि हुँदै गईरहेको बैंकको ग्राहक संख्यामा निरन्तर वृद्धि कायम राख्दै सम्पूर्ण ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखी बैंकको ग्राहक सेवालाई अभmै प्रभावकारी बनाउँदै लैजाने नीति अबलम्वन गरिएको छ ।

    बैंक ग्राहक वर्गको हितलाई ध्यानमा राख्दै सरल, सहज र बहुउपयोगी बैंकिङ सेवाहरू, राष्ट्रिय प्राथमिकताको क्षेत्रमा लगानी, वित्तीय पहुँच अभिवृद्धिका लागि निरन्तर क्रियाशील छ । बैंकको हाल मुलुकको सातवटै प्रदेशमा गरी ३५४ वटा शाखा ६८ वटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २३७ वटा शाखारहित बैंकिङ सेवा, ३८४ वटा एटीएम, विदेशस्थित भारतको नयाँदिल्ली, संयुक्त अधिराज्य र अष्टे«लियामा समेत गरी तीन स्थानमा प्रतिनिधि कार्यालय समेत सञ्चालनमा रहेका छन् ।

    औपचारिक र सहज बैंकिङ कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्ने अपेक्षा रहेको छ । बैंकले समग्रमा (शाखा, एटीएम, एक्सटेन्सन काउन्टर, सेवाकेन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालय समेत) करिब ११०० सेवा केन्द्रमार्फत ५० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सातवटै प्रदेशमा बैंकको प्रादेशिक कार्यालय स्थापना गरी सोमार्फत सम्बन्धित प्रदेशका शाखाहरूको समन्वय, निरीक्षण र सहजीकरणको कार्य हुँदै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend