काठमाडौँ । सरकारी अस्पतालको तुलनामा ओझेलमा परेको क्षेत्र हो आयुर्वेदिक अस्पताल । प्रत्येक जिल्ला तथा स्थानीय तहमा आयुर्वेदिक चिकित्सालय भएतापनि अहिलेपनि अधिकांश मानिसको रोजाइमा आयुर्वेद अस्पताल अझै पर्न सकेको छैन ।
कोरोना महामारी पछि केही मानिसहरुको ध्यान आयुर्वेद अस्पतालतिर गएतापनि अझै आधाभन्दा बढी जनसंख्यालाई आयुर्वेदले तान्न सकेको छैन । यद्यपी पछिल्लो समय आयुर्वेदिक क्षेत्रमा नयाँ युवाहरुको आकर्षण बढ्न थालेको छ ।
पछिल्लो समय आयुर्वेदिक उपचार पद्दतीतर्फ विश्वास बढ्दै जाँदा बिरामी मात्र नभई सो सेवाका लागि चिकित्सक समेत आकर्षित भइरहेका छन् । जसमध्ये एक हुन्, ललितपुर कुसुन्तीकी डाक्टर सृष्टि श्रेष्ठ । मध्यम वर्गीय परिवारमा जन्मिएकी उनको रोजाइ डाक्टर बन्ने थियो । सानैदेखि डाक्टर बन्ने योजना बनाएकी उनले एसएसली पछि विज्ञान विषय अध्ययन गरिन् ।
१२ कक्षा पढ्दासम्म आयुर्वेदका बारेमा खासै चासो थिएन सृष्टिलाई । ‘घरमा बुबाले सामान्य आयुर्वेदिक औषधी प्रयोग गर्नुहुन्थ्यो, त्यो समयमा आयुर्वेद छ भन्ने थाहा थियो । तर कोर्सको बारेमा मलाइ केही थाहा नै थिएन’, उनी भन्छिन्, म डाक्टर बन्ने भनेर नै पढेको मान्छे । कक्षा १२ को परीक्षा दिएर बसेको समयमा आयुर्वेद कोर्षको बारेमा थाहा भयो, अनि मेरो ध्यान यतैतिर मोडियो ।’
साथीको माध्यमबाट आयुर्वेदको विषयमा थाहा पाएपछि उनले सोही विषय अध्ययनको तयारी थालिन् । भन्छिन्,‘मैले साथीको माध्यमबाट थाहा पाएकँ । उसकै सहयोगमा फर्म भरँे । त्यसपछि पढ्न छात्रवृद्धि समेत पाए ।
छात्रवृत्तिमा आयुर्वेद डाक्टर पढ्न कीतिपुर्रमा नाम निस्किएपछि उनले साढे ५ वर्ष त्यहीँ अध्ययन गरिन् । कीर्तिपुर अस्पतालमा बीएएमएस सकेपछि एमडी अध्ययनका लागि पुनः नेशनल इन्सिच्युट अफ आयुर्वेद अस्पताल जयपुर इन्डियामा छात्रवृत्ति पाइन् ।
कीर्तीपुरको पढाइ सकेपछि आयुर्वेद डाक्टरका लागि उनले लोक सेवाको परीक्षा समेत दिएकी थिइन् । ‘मैले पढाइ सकेपछि आफ्नै क्लिनिक सञ्चालन गर्ने सोच बनाएकी थिएँ । कीर्तिपुरको पढाइ सकेकै बेला लोकसेवाले आयुर्वेद डाक्टरका लागि निवेदन खुलाएको समय थियो । साथीहरुकै सल्लाहमा एक पटक फर्म भरौँ भन्ने थियो । अनि फर्म भरियो तर सफल भइएन’, उनी भन्छिन् ।
पहिलो पटक फर्म भरेर परीक्षामा सामेल भएकी उनको नाम वैकल्पिकमा निस्कियो । सरकारी सेवामा प्रवेश गर्ने योजना असफल भएपछि उनले आयुर्वेद डाक्टरमै एमडी गर्ने सोच बनाएर तयारी थालिन् ।
ब्याचलर्स छात्रवृत्तिमा पढेकी उनले एमडीका लागि समेत इन्डियाको आयुर्वेद अस्पतालमा समेत छात्रवृत्ति पाइन् । ३ वर्षे कोर्ष सकेर नेपाल फर्किएपछि उनले पुनः लोकसेवाको तयारी थालिन् ।
बि.ए.एम. एस. एम. डि. काय चिकित्सक बनेर नेपाल फर्किएपछि उनले आठौँ तहमा नाम निकालिन् । २०७५ को असोजदेखि आयुर्वेद चिकित्सकका रुपमा सरकारी सेवामा प्रवेश गरेकी उनको सुरुकै पोष्टिङ कार्यालय प्रमुखका रुपमा भयो ।
हेटौँडा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको डाक्टरका रुपमा सरकारी सेवामा प्रवेश गरेकी उनी हाल आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ताल्छिखेल ललितपुरको प्रमुखका रुपमा छिन् । साढे २ वर्ष हेटौडामा बिताएकी उनी त्यस यता ललितपुरको कार्यालय हाँकिरहेकी छन् ।
डाक्टर बन्ने सोच राखेर पढाइ सकेकी उनी विगत ५ वर्षदेखि आयुर्वेद डाक्टर तथा कार्यालय प्रमुखको रुपमा सेवा प्रवाह गरिरहेकी छिन् ।
उनी आयुर्वेद चिकित्सक बनेर सरकारी सेवामा प्रवेश गरेको ५ वर्षको अवधिमा आम उपभोक्ताको आयुर्वेद क्षेत्रको रुचि तथा विश्वास उनले नजिकबाट नियालेकी छिन् ।
‘मेरो लाइफको पहिलो जागिर नै आयुर्वेद डाक्टर भएर कार्यालय प्रमुखका रुपमा भएको हो । म आयुर्वेद क्षेत्रसँग जागिर दुबै क्षेत्रमा नयाँ थिएँ । मेरो लागि च्यालेन्ज थियो, त्यसमाथि त्यो समयमा मेरो सानो बच्चा समेत थियो,’ उनले भनिन् ।
जीवनकै पहिलो जागिर त्यो पनि कार्यालय प्रमुख हुँदा खुशीसँगै डर पनि सँगसँगै आएको उनी सम्झिन्छिन् । ‘मेरो मनले मानेको क्षेत्र भएका कारण मैले काम गर्दा गर्दा आएका अप्ठ्याराहरुलाई पार गर्दै यहाँसम्म आइपुगेको हुँ,’ उनले भनिन् ।
बाटो छेउ परेर छिरेर यो औषधी दिनुन भन्ने उपभोक्ता देखिरहेकी उनी कोरोना महामारीपछि आम मानिसमा आएको परिवर्तन देखेर अचम्मित छिन् ।
‘म आयुर्वेद क्षेत्रमा आउँदा आयुर्वेद भनेको हचुवाको भरमा औषधी लगेर खाने । अन्य औषधीको विकल्पमा राख्ने गरिएको पाएको थियो । तर अहिले आयुर्वेद क्षेत्रलाई हेर्न धेरै मानिसको सोचाइमा परिवर्तन आएको मैल भेटेको छु’, उनले खुशी हुँदै भनिन्, ‘पहिला औषधी दिनुस् भने उपभोक्ता अहिले डाक्टर मलाइ यो समस्या छ के गर्ने भनेर आउने गर्नुभएको छ । यो देख्दा धेरै खुशी लाग्छ ।’
के के गर्छ कार्यालयले काम ?
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ताल्छिखेलमा मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधी वितरणदेखि निःशुल्क स्क्रीनिङसम्मका कामहरु हुँदै आएको छ ।
अस्पताल प्रमुख डा. सृष्टि श्रेष्ठले अस्पतालले बिरामीको निःशुल्क स्क्रीनिङ गर्ने गरेको बताइन् । उनले अस्पतालले विभिन्न प्रकारका उपचारात्मक तथा जनचेतनामुलक एवं स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको डा. श्रेष्ठले बताइन् ।
अस्पतालले बहिरङ्ग तथा पञ्चकर्म एवं पूर्वकर्म सेवा दिनाका साथै योग र ल्याब,ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम एवं अकुपञ्चर सेवा समेत दिने गरेको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयुर्वेद सम्बन्धी सचेतना एवं ट्राफिक प्रहरीका लागि नस्यकर्म, स्वस्थ जीवन प्रवर्धन कार्यक्रम तथा विद्यालय आयुर्वेद तथा योग शिक्षा हुँदै राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती गर्ने गरेको चिकित्सकले जानकारी गराएका छन् ।
कार्यालयले न्यून शुल्कमा ल्याब सेवादेखि ललितपुरका ३० वर्षभन्दा माथिका स्वस्थ व्यक्तिहरुमा नसर्ने रोग भए नभएको निःशुल्क स्क्रिनिङ गर्दै आएको छ । हरेक बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म उक्त सेवा प्रदान गर्ने गरिएको प्रमुख श्रेष्ठले जानकारी दिइन् ।
स्थापनाको २५ वर्षपछि जग्गा प्राप्ती
ललितपुर जिल्लामा २०५६ सालमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको थियो । जिल्ला आयुर्वेद हुँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेको कार्यालयले स्थापनाको २५ वर्षपछि आफ्नै जग्गा पाएको छ ।
२०८० को असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई अस्पताल भवन निर्माणका लागि १३ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । केन्द्र सरकारले जग्गा प्राप्तीका लागि स्वीकृति दिएपछि हाल भवन निर्माणको डिपीआर तयार भइसकेको छ ।
असार १२ गते बसेको मन्त्रिपरिषदको बैठकले ललितपुरको झरुवारासीको १३ रोपनी ६ आना जग्गा आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई उपलब्ध गराउने निर्णय गरेको थियो । जसमा मध्ये झरुवारासी गाविसको ९ रोपनी ५ आना सरकारी जग्गा र ४ रोपनी १ आना सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माणार्थ प्रयोग गर्न दिने स्वीकृति दिएको थियो ।
सरकारले ३० वर्षका लागि भवन निर्माण गर्न भन्दै उक्त जग्गा लिजमा दिएको हो । डिपीआर तयार भएर बोलपत्र आह्वानको तयारी थालिएको छ ।

