काठमाडौँ । पछिल्लो समय नेपालमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे विद्युतीय स्कुटर र बाइक भित्र्ने होडबाजी नै चलेको छ । अहिले नेपालको अटो बजारमा विभिन्न ५० भन्दा बढी ब्राण्डका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको बिक्री वितरण भइरहेको छ ।
बजारमा धेरै ब्राण्डका विद्युतीय स्कुटर उपलब्ध भएसँगै ग्राहकलाई कुन स्कुटर किन्ने भन्ने कन्फयुज बढ्न थालेको छ । बजारमा धेरै विकल्प हुँदा उनीहरूलाई राम्रो स्कुटर छान्न समस्या हुन थालेको छ ।
हामीले अहिले विद्युतीय स्कुटरमा प्रतिस्पर्धा गरिरहेका दुई ब्राण्डका स्कुटरको फिचरदेखि मूल्यसम्म यहाँ जानकारी गराउन लागेका छौँ ।
पछिल्लो समय नेपाली बजारमा ग्राहको रोजाइमा पर्न सफल दुई प्रिमियम इलेक्ट्रिक स्कुटर हुन् एथर ४५० एक्स र जिओ एई ८ । यी दुवै स्कुटरले नेपाली बजारमा राम्रै प्रतिश्पर्धा गरिरहेका छन् ।
५६ वर्षदेखि नेपालमा चारपाङ्ग्रे सवारीको बिक्री वितरण गर्दै आएको ब्राण्ड हो वैद्यज अर्गनाइजेशन । नेपालमा टाटा गाडीको आधिकारित वितरण वैद्यज अर्गनाइजेशनले गत वर्षको कात्तिकदेखि वैद्यज इनर्जीमार्फत नेपालमा भारतीय ब्राण्डकै एथर स्कुटरको बिक्री वितरण गर्दै आएको छ ।
वैद्यज अर्गनाइजेशनले हाल एथर ब्राण्डका ३ भेरियन्टका विद्युतीय स्कुटर बिक्री वितरण गर्छ । भारतीय कम्पनी एथरको हालसम्म नेपालमा मात्र उक्त स्कुटर बिक्री वितरण भइरहेको छ ।
यस्तै, डेढ वर्षअघि रिलायन्स ग्रुप अन्तरगतको ऋषि ट्रेड सेन्टरले चिनियाँ ब्राण्डको सीएफ मोटो तथा जिओ ब्राण्डका स्कुटर तथा बाइकको बिक्री वितरण गर्दै आएको छ ।
जिओ ब्राण्डका बाइक तथा इलेक्ट्रिक स्कुटरहरुले हाल युरोप र एसियन देशहरूमा आफ्नो बाक्लो उपस्थिति जनाउन सफल भएको छ ।
कुनको मूल्य कति छ ?
सुरुमा दुई ब्राण्डका स्कुटरको मूल्यका विषयमा चर्चा गरौँ । वैद्यज इनर्जीले एथरएक्स ४५० ब्राण्डको स्कुटरको नेपाली मूल्य ४ लाख ३९ हजार ९९९ रुपैयाँ तोकेको छ । यस्तै, ऋषि ट्रेड सेन्टरले जिओ एई ८ को मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकेको छ । एथरको तुलनामा जिओ ५१ हजार रुपैयाँ महंगो हो ।
जिओ स्कुटर
रिलायन्स ग्रुप अन्तरगतको ऋषि ट्रेड सेन्टर चिनियाँ कम्पनी सीएफ मोटो तथा जिहो स्कुटरको ब्राण्ड नेपाल भित्र्याएको छ । कम्पनीले गत बैशाख दोस्रो साता उक्त ब्राण्ड नेपाल भित्र्याएको हो ।
कम्पनीले जिओको ‘जिओ एई–८ प्लस, जिओ एई–६ प्लस लङ रेन्ज’ र सीटी स्पोटर्स नेपालमा ल्याएको छ । जिओमा १२.५ किलोवाट पिक मोटर उपलब्ध छ । यो ब्याट्रीलाई एकपटक फुलचार्ज गरेर १४० देखि १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।
जिओले आफ्नो स्कुटरमा तीन राइड मोड, एडप्टिभ हेडल्याम्प, डिस्र्टबेन्स अर्लाम, एन्टी थेफ्ट अर्लाम र स्मार्ट कनेक्ट लगायतका अन्य फिचर दिएको छ ।
यो स्कुटरको फ्रन्टमा ठूलो फेन्डर दिइएको छ । यसले स्कुटरको फ्रन्ट टायरसम्मै ढाकेको छ । यसको साइड प्यानलमा नौलो डिजाइनको टर्न इन्डिकेटर दिइएको छ । त्यस्तै रियरमा आकर्षक एलइडी ब्रेक लाइट पाउन सकिन्छ ।
एथर स्कुटर
वैद्यज अर्गनाइजेशन अफ इण्डष्ट्रिज एण्ड ट्रेडिङ हाउसेज (भोइथ) ले स्थापनाको ५६ वर्षपछि दुई पाङ्ग्रे सवारी साधानको व्यापार सुरू गरेको छ ।
कम्पनीले गत कातिक दोस्रो सातादेखि भारतमा निर्माण भएको एथर ब्राण्डका विद्युतीय स्टुकर भित्र्याएको हो ।
एथर ४५० एक्समा ६.४ किलोवाट पिक क्षमताको मोटर, ३.७ किलोवाट आवर क्षमताको नन–रिमुभयबल (झिक्न नमिल्ने) ब्याट्री उपलब्ध छ । यो ब्याट्रीलाई एकपटक फुलचार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । जसमध्ये एथर एक्समा पार्किङ एसिस्ट, हिल एसिस्ट, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, रिभर्स मोड जस्ता अत्याधुनिक फिचर छन् । यसमा ५ राइड मोड उपलब्ध छ ।
कम्पनीले पहिलो चरणमा ‘एथर ४५० एक्स’ का दुई भेरिएन्ट नेपाली बजार ल्याएको थियो । २.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको भेरिएन्टले फुल चार्जमा १ सय ११ किलोमिटर रेन्ज दिन्छ भने यसको फुल स्पिड ९० किलोमिटर प्रतिघन्टा छ । यो ३.३ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ ।
अत्याधुनिक डिजिटल सिस्टममा बनाइएका यी स्कुटरमा ७ इन्चको टच स्क्रिन डिस्प्ले छ । यसको मद्दतमा चालकले सजिलैसँग फोन कल गर्न, गीत सुन्न, गुगल म्याप प्रयोगलगायत काम गर्न सक्छन् ।
त्यस्तै यसमा हिल होल्ड एसिस्ट, रिभर्स गियरलगायत फिचर छन् । ग्राहक सुविधाका लागि वैद्य इनर्जीले देशका विभिन्न स्थानमा फास्ट चार्जिङ स्टेसन बनाउने तयारी गरेको छ । यो वर्षभित्रै कम्पनीले ४५० एस, एपेक्स ४५० एक्स र फेमेली स्कुटर ल्याउने तयारी गरेको छ ।
माथि उल्लेखित भिन्नता तथा समानताहरूका अलावा ग्राहकहरूले स्कुटर टेष्ट गरेर छनोट गर्न सक्नेछन् ।

