काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) का लागि १७ जनाले आवेदन दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले जेठ २२ गते प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो । उक्त आवेदनको आज अन्तिम दिन मंगलवारसम्म १७ जनाको दरखास्त परेको सञ्चार मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
मन्त्रालय स्रोतकाअनुसार दरखास्त दिनेमा अधिकांश टेलिकम भित्रकै कर्मचारीहरु छन भने केहि बाहिरबाट आवेदन परेको छ ।
दरखास्त दिनेमा राजेश जोशी, अनन्तप्रकाश मल्लिक, डा. विमल आचार्य, वर्तमान निमित्त एमडी संगीता पहाडी (अर्याल), प्रेम प्रसाद सिलवाल, चिन्ता मणि बराल, कृष्ण प्रसाद भण्डारी, अनिलकुमार झा, डा. ई. शालिग्राम पराजुली, लक्ष्मण महर्जन, ई. सुभाष साह, नगेन्द्रकुमार दास, केदार नाथ कोइराला, कमल लामिछाने, रमेश प्रसाद जोशी, ई.शालिक राम सुवेदी र बुद्धी प्रसाद आचार्य रहेका छन् ।
दरखास्त दिनेमध्ये ४ जना बाहेक सबैजसो नेपाल टेलिकमसँग आबद्ध रहेका कर्मचारीहरु रहेका छन् ।
दरखास्त दिएका मध्ये नेपाल टेलिकममै कार्यरत डा. विमल आचार्य र जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक रहेका अनिल कुमार झा चर्चामा रहेका छन् । डा विमल आचार्य वर्तमान निमित्त एमडी पहाडीको सचिवालयमा कार्यरत रहेका छन् भने उनलाई सञ्चार मन्त्री निकट मानिएको छ ।
यस्तै अनिल झालाई प्रधानमन्त्री निकट मानिएको र उनैको लागि नियुक्ति गर्ने कार्यबिधी नै संसोधन गरिएको चर्चामा रहेको छ ।
आवेदन दिनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको हुनुपर्नेछ भने मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने न्यूनतम मापदण्ड राखिएको थियो ।

