काठमाडौँ । दोर्दी गाउँपालिका वडा नं ३ श्रीमञ्ज्याङका १९ वर्षिय प्रशान गुरुङ २५ गतेदेखि बेपत्ता भएका छन् । माछा मार्नका लागि जाल हान्ने भन्दै मस्र्याङ्दी गाउँपालिका ७ ङादी बजार देखि निस्किएका गुरुङ बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
मस्र्याङ्दी गाउँपालिका ७ ङादीमा खाजा पसल सञ्चालन गरेर बसेका गुरुङ मस्र्याङ्दी नदीमा जाल हान्ने भन्दै एक्लै निस्किएको पारिवारिक स्रोतले बताएको छ । असार २५ गते साँझ ५ बजेदेखि वेपत्ता गुरुङको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । गुरुङको परिवारले प्रहरीमा समेत निवेदन दिएको छ ।
गुरुङको आफन्त र प्रहरीले खोजी कार्य जारी राखेको छ तर उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाइले बताए । हराएको ५ दिन वितिसक्ता समेत उनको अवस्था अज्ञात रहँदा परिवार चिन्तित बनेका छन् ।
गुरुङको परिवारले खोजि कार्यमा सहयोग गर्न अनुरोध गर्दै कहीँ कतै भेटेमा उनको दाजु प्रदिप गुरुङ, भाउजु मञ्जु गुरुङ अथवा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।

