२०८३, आश्विन २० गते

images
  • विश्व
  • अमेरिकामा जहाज दुर्घटनामा ६७ जनाकै मृत्यु...

अमेरिकामा जहाज दुर्घटनामा ६७ जनाकै मृत्यु भएको पुष्टि, ‘ब्ल्याक बक्स’ भेटियो

अमेरिकामा जहाज दुर्घटनामा ६७ जनाकै मृत्यु भएको पुष्टि, ‘ब्ल्याक बक्स’ भेटियो

शुक्रवार, माघ १८ २०८१०९:२१
शुक्रवार, माघ १८ २०८१०९:२१
  • images

    एजेन्सी । अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो । विमानमा ६० जना यात्रु र चालक दलका ४ सदस्य सवार थिए । यस्तै हेलिकप्टरमा रहेका ३ जनाको पनि मृत्यु भएको छ ।

    कान्सस राज्यको विचिटाबाट उडेको अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसए एयरलाइन्सको विमान ‘धावनमार्ग–३३’ मा अवतरण गर्ने क्रममा अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोकिएको थियो । तीन सैनिक सवार सेनाको सिकोस्र्की ‘ब्ल्याक हक’ हेलिकोप्टर प्रशिक्षण उडानमा थियो ।

    विमान र हेलिकोप्टरमा रहेका सबैको मृत्यु भएको अमेरिकी सञ्चार संस्था एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ । अधिकारीहरूले अँध्यारो, तीव्र वेगको हुरी र चिसोका कारण उद्धार कार्य प्रभावित भएको जनाएका छन् ।

    घटनास्थलको तापक्रम निकै कम भएको र रातको समय भएकाले उद्धारमा निकै कठिनाइ भएको डोनेलीको भनाइ छ । उनका अनुसार उद्धार कार्यमा करिब ३ सय आपत्कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको छ । खोजी तथा उद्धार कार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाएको छ ।

    अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए) का अनुसार स्थानीय समयानुसार बुधबार बेलुकी ९ बजेतिर अवतरणको तयारीमा रहेको पीएसएको विमान हेलिकोप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको हो । हेलिकोप्टरसँग ठोकिएपछ विमान दुई टुक्रा भएर नदीमा खसेको थियो । दुर्घटनामा परेको हेलिकोप्टर सग्लो रहेको तर नदीमा उत्तानो परेको स्थानीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

    विमानसँग ठोकिएको हेलिकोप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको थियो । अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । दुर्घटनापछि रोनाल्ड रेगन विमानस्थल बन्द गरिएको र त्यहाँ आउन लागेका विमानहरूलाई डालस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ ।

    सीएनएनका अनुसार दुर्घटना हुनुभन्दा केही समयअघि रोनाल्ड रेगन विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले सेनाको हेलिकोप्टरलाई अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान देखिएको छ कि छैन भनेर प्रश्न गरेका थिए । एयर ट्राफिक कन्ट्रोलले हेलिकोप्टरलाई पुनः चेतावनी दिएको थियो ।

    एयर ट्राफिक कन्ट्रोलले दिएको चेतावनीपछि हेलिकोप्टर चालकले कुनै प्रतिक्रिया नदिएको र त्यसको केही सेकेन्डमै हेलिकोप्टर र विमान ठोकिएको थियो ।
    पोटोम्याक नदीमा खसेको अमेरिकी एअरलाइन्सको विमानको ब्ल्याक बक्स फेला परेको अधिकारीहरूले बताएका छन्।

    नदीमा हराइरहेका यात्रु खोजीका क्रममा विमानका फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर, जसलाई ब्ल्याक बक्स भनिन्छ, भेटिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend