२०८३, आश्विन २० गते

images
  • विश्व
  • भारतीय विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु प्रकरण...

भारतीय विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु प्रकरण : ८ बुँदे मागसहित नेपाली विद्यार्थीको विरोध

भारतीय विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु प्रकरण : ८ बुँदे मागसहित नेपाली विद्यार्थीको विरोध

मंगलवार, फाल्गुण ६ २०८११०:२३
मंगलवार, फाल्गुण ६ २०८११०:२३
  • images

    काठमाडौं । भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु पछि नेपाली विद्यार्थीहरूले घटनाको सत्यतथ्य छानबिन र सुरक्षाको माग गर्दै ८ बुँदे शर्त अघि सारेका छन्। उनीहरूले भारतीय पक्षबाट असुरक्षित महसुस भएको भन्दै होस्टेल फर्किनुअघि यी मागहरू पूरा गर्नुपर्ने शर्त राखेका छन्।

    ८ बुँदे माग:

    १. न्यायको सुनिश्चितता – घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिनुपर्छ।

    २. प्रहरी अनुसन्धान – होस्टेल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले शव नियन्त्रणमा लिँदा प्रक्रिया उल्लंघन गरेकाले          उनीहरूमाथि छानबिन हुनुपर्छ।

    ३. गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही – अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पेश गरिएका कागजातहरूको विस्तृत छानबिन र बेवास्ता गर्नेहरूलाई जागिरबाट हटाउनुपर्ने माग।

    ४. नेपालको छविमा अपमान गर्ने शिक्षक निलम्बन – नेपालको राष्ट्रिय बजेटको उपहास गर्ने शिक्षकहरूलाई कारबाहीको माग।

    ५. आक्रमणको आदेश दिने उच्च अधिकारीको माफी – उनीहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्छ र कानुनी कारबाहीको सामना गर्नुपर्छ।

    ६. सीसीटीभी फुटेज सार्वजनिक – घटनाको सत्यतथ्य छानबिनका लागि फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि को सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने माग।

    ७. यातायात खर्च क्षतिपूर्ति – होस्टेलबाट जबरजस्ती निकालीएको विद्यार्थीहरूको घर फर्किने खर्च कलेजले बेहोर्नुपर्छ।

    ८. कलेज प्रशासनको गल्ती स्वीकारोक्ति – कलेजले जारी गरेको प्रेस विज्ञप्ति झूटो भएको स्वीकार गर्दै वास्तविकता सार्वजनिक गर्नुपर्ने माग।

    प्रकृति लम्सालको मृत्युको विरोधमा प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि छानीछानी आक्रमण गरिएको आरोप लागेको छ। आज बिहान पनि केही नेपाली विद्यार्थीलाई बाउन्सर जस्ता देखिने व्यक्तिहरूले कोठामा जबरजस्ती प्रवेश गरी कुटपिट गरेको विद्यार्थीहरूको गुनासो छ।

    घटनाको सत्यतथ्य सार्वजनिक गर्न र प्रमाण सुरक्षित राख्न १७ फेब्रुअरी २०२५ को बिहान ७ देखि १२ बजेसम्मको केपी ८ ए, केपी ८ ब्लक सी र बी तथा केपी २६को सीसीटीभी फुटेज हेर्न दिल्लीस्थित नेपाली दूतावासलाई अनुरोध गरिएको छ। प्रकृति लम्सालको मृत्युको खबर सार्वजनिक भएसँगै गम्भीर छानबिनको माग गर्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए। त्यसपछि नेपाली विद्यार्थीहरू कुटपिट र दुर्व्यवहारको निशानामा परेको आरोप लागेको छ। यसअघि पनि सेक्युरिटी गार्डजस्ता देखिने व्यक्तिहरूले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो।

    यस घटनाले नेपाल–भारतबीचको शैक्षिक सम्बन्धमा असर पार्न सक्ने देखिएको छ। नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने आवाज उठिरहेको छ। यस विषयमा केआईआईटी विश्वविद्यालयको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। घटनाको गम्भीरता र विद्यार्थीहरूको असुरक्षाको महसुसलाई ध्यानमा राख्दै थप विवरणको प्रतीक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend