काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ् इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ ।
युनिभर्सिटीले कलेजमा ज्यान गुमाएकी लम्सालको नाममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति दिने निर्णय गरिएको सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो । ‘यो कदमले प्रकृति जस्ता थुप्रै होनाहार विद्यार्थीहरुलाई कुनै बाधाविना शिक्षा अघि बढाउन सहयोग पुग्नेछ’, युनभर्सिटीले भनेको छ ।
होस्टल फर्कन थाले नेपाली विद्यार्थी
लम्सालको मृत्युभएपछि होस्टेलबाट निकालिएका नेपाली विद्यार्थीहरु पुनः होस्टेल फर्कन थालेका छन् ।
भारतस्थित नेपाली दूतावासका काउन्सिलहरू सञ्जीव शर्मा दास र नविन अधिकारीसँग सोमबार साँझ र मंगलबार दिनभर भएको संवादपछि विद्यार्थीहरू होस्टेल फर्किन थालेका हुन् ।
दास र अधिकारीले विद्यार्थीहरूसँग कुराकानी गर्नुका साथै कलेज प्रशासन र ओडिसा प्रहरीका अधिकारीहरूसँग पनि छलफल गरेका थिए ।
उक्त आग्रह पछि झन्डै १ सय जना नेपाली विद्यार्थी होस्टेल फर्किएका छन् भने दुई सय विद्यार्थी नेपाल फर्किसकेका छन् । नेपाल फर्किएका विद्यार्थीहरूलाई पनि कलेज प्रशासनले आउनेजाने खर्च व्यहोर्ने भन्दै कलेज फर्किन आह्वान गरेको छ ।
उक्त कलेनमा बिटेक पहिलो वर्षदेखि पिएचडीसम्म केआइआइटीमा १४ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

