२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पशुपतिनाथ मन्दिरः साउने झरीको प्रवाह नगरी...

पशुपतिनाथ मन्दिरः साउने झरीको प्रवाह नगरी भक्तजनको भिड

पशुपतिनाथ मन्दिरः साउने झरीको प्रवाह नगरी भक्तजनको भिड

सीएनएन खबर
सोमवार, श्रावण ७ २०८१०८:२६
सीएनएन खबर
सोमवार, श्रावण ७ २०८१०८:२६
  • images

    काठमाडौँ । साउनको पहिलो सोमबार आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 

    झरीको पर्वाह नगरी राति नैदेखि श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन गर्न गएका हुन् । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए । 

    साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

    नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा  भक्तजनको भीड लाग्छ । 

    Pashupati ma bhid1.jpg
    भक्तजनको भिड

    साउनको सोमबार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको जानकारी पनि उनले दिए । पशुपतिनाका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिने भएको छ । 

    साउनको सोमबार पशुपति क्षेत्रमा ११ संस्थाका स्वयंसेवक खटाइएको छ । विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, खोजखबरको कक्ष पनि सञ्चालन गर्न लागेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । 

    साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजन पनि साउनमा लाखौँ हुने गरेका छन् ।

    Pashupati ma bhid2.jpg
    भक्तजनको भिड

    साउन महिनाको सोमबारका दिनमा पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवाने शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ । साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्रदान गरी व्रत समापन गर्ने विधि छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend