काठमाडौँ । नाडा अटोमोवाइल एशोसियसनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । नाडाका अध्यक्ष करन चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री ओलीसँग भेट गरेको हो ।
प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्या बारे जानकारी गराएका थिए । उनले सरकारका बिभिन्न कार्यविधिका कारण अटोमोवाइल ब्यवसायीहरु आफनो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुदै गएको भन्दै अटोमोवाइल व्यवसायलाई माथी उठाउन आवश्यक नीतिगत सुझावहरु पेश गरेका थिए ।
उक्त छलफलमा अध्यक्ष चौधरीले विशेषगरी अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पुजी कर्जा मार्ग दर्शन २०७९ लागु भएपछि लागु भएको मिति भन्दा अगाडी कर्जा लिएकाहरुलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मिति पछी कर्जा लिएकाहरुलाई मात्रै चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने बताए । त्यसैगरी सो छलफलमा अध्यक्ष चोधरीले नेपालमा विद्युतिय सवारी साधनहरुको आयात बढदै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ्ग स्टेशनहरुको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरुका सम्बन्धमा सरकारले स्थायी प्रकृतीको नीति नियम ल्याउनु पर्ने बताए ।
अध्यक्ष चौधरीले दुई पाँग्रे सवारी साधनको पैठारीकर्ताले डिलरलाई विल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई विल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्थाका लागि समेत आग्रह गर्दै नेपालमा आयात भईरहेका दुई पाङग्रे सवारी साधनहरु मध्ये करिब ९८ प्रतिशत भन्दा बढि आयात भारतमा निर्मित दुई पाङग्रे सवारी साधनहरु भएको बताए । उनले हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज भारतमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभई फरक साइजको भएकोले सवारी संचालनको त्रममा अगाडीको सकरमा ठोकिने भएको कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको हुँदा इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेट मध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरि दिन समेत अनुरोध गरे ।
नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योगहरुको समस्या र चुनौतीहरु बारे जानकारी गराएका थिए ।
उक्त छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधन, टायरटयूव, व्याट्री तथा लुव्रिकेण्टस उद्योगहरुको बर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिएका थिए ।

