काठमाडौं। इजरायलले गाजा क्षेत्रमा फेरि आक्रमण सुरु गरेको छ। यस हमलामा ३४ प्यालेस्टिनीको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।
इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै हमासका क्याम्पहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। रोयटर्सका अनुसार, चिकित्सक र प्रत्यक्षदर्शीको उद्धृत गर्दै, इजरायली सेनाले गाजाको मध्य क्षेत्रमा रहेको देर अल बलाहका तीन घरलाई निशाना बनाएको बताइएको छ। साथै, खान युनिस र सफाहका भवनहरूमा पनि आक्रमण गरिएको छ।
गाजाको सिभिल डिफेन्स एजेन्सीले यस हमलामा ३४ जनाको मृत्यु र ७० जनाको घाइते भएको जानकारी दिएको छ।
गाजामा २०२५ को १९ जनवरीदेखि युद्धविराम लागू गरिएको थियो। पहिलो चरणको युद्धविराम १ मार्चमा समाप्त भएको थियो र दोस्रो चरणको युद्धविरामको प्रयास भइरहेको बेला इजरायलले हमासलाई लक्षित गरी आक्रमण गरेको हो। बीबीसीले यो आक्रमणलाई युद्धविराम उल्लंघनको सबैभन्दा ठूलो आक्रमण भनेको छ।
इजरायलका प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इसराइल काट्जको निर्देशनमा मंगलबार बिहान गाजा क्षेत्रमा आक्रमण गरिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ कि हमासले बन्दी रिहाइ गर्न इन्कार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट काफ र अन्य मध्यस्थकर्ताहरूको प्रस्तावलाई अस्वीकृत गरेकाले आक्रमण गरिएको हो।

