काठमाडौँ । सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव फरार भएका छन् । जनप्रतिनिधिकै नेतृत्वमा महायज्ञ गर्ने भन्दै दलितको घर भत्काईएको भन्दै व्यापक विरोध भएपछि उनी फरार भएका हुन् ।
उनीसँगै महायज्ञ आयोजक बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव फरार भएका हुन् ।
घटना सार्वजनिक भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी प्रमुख रमेश पण्डित बिहीबार दिउँसो घटनास्थल र गाउँपालिका कार्यालयमा गएका थिए । तर, उनीहरु नभेटिएको र सम्पर्कविहीन बनेको पण्डितले बताए ।
उनीहरु तीनै जनालाई सम्पर्कमा ल्याइदिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णलाई आग्रह गरिएको पण्डितले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष यादवसहित तीनै जनाले यही चैत १७ देखि हुने महायज्ञका नाममा ३० वर्षदेखि बसोबास गर्दै आएका स्थानीय दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइदिएका थिए ।
अछूत भन्दै त्यहाँबाट हटाइएका मल्लिक परिवार अहिले गाउँकै एकान्तमा रहेको सामुदायिक विद्यालयको जग्गामा अस्थायी टहरा बनाएर बसिरहेका छन् ।
संसद्मा चर्काचर्की
महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।
महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयको भनाइ छ ।
त्यसप्रति आपत्ति जनाउँदै सांसदहरूले भत्र्सना गरेका हुन् । नेपाली कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद मनिष झा, जनमत पार्टीका सांसद अब्दुल खान, स्वतन्त्र सांसद अमेरशकुमार सिंह, सम्झना थपलिया, रणेन्द्र बराली, प्रभु हजारा, शान्ति विक लगायतले आपत्ति जनाएका छन् ।
उनीहरूले यस घटनाप्रति आपत्ति जनाउँदै दलितहरूले न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालत ‘हेग’ जानुपर्ने अवस्था समेत आएको बताएका छन् ।

