काठमाडौँ । काठमाडौँ महानगरले नगर कार्यपालिकाको कार्यालयमा वडाअध्यक्षलाई समेत निषेध गरेको छ । महानगरले कारवाही गरेको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं पुनः महानगर आउन लागेको भन्दै मेयर बालेन शाहले वडाअध्यक्षलाई समेत प्रवेशमा रोक लगाएका हुन् ।
उनले बिहीबार बिहानैदेखि महानगरमा नगर प्रहरी परिचालन गरी प्र्रशासकीय अधिकृतसँगै वडाअध्यक्षलाई समेत प्रवेशमा रोक लगाएका हुन् ।
यस्तै, प्रशासकीय अधिकृत रोक्न उनको कार्याकक्षमा ताला लगाईएको छ भने नगर प्रहरीले उनले चढ्ने गाडीमा ह्वील लक गरिएको छ ।
गुरागाईं ०८१ पुस १४ गतेदेखि निलम्बनमा छन् । महानगरका मेयर बालेन्द्र शाह ९बालेन०ले उनलाई निलम्बन गरेका हुन् । काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ ।
महानगरले गुरागाईंमाथि छानबिन गर्न तीन समिति बनाएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन निर्देशन दिँदै आएको छ ।
सोही निर्देशनबमोजिम गुरागाईं कार्यालयमा जान लागेका मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बताए । “हिजोदेखि कार्यालयमा जाने कुरा थियो, अब आज जानुहुन्छ होला,” उनले भने ।
प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न मेयर बालेनले खटाए नगर प्रहरी

