काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको दिमागमा देखिएको दागसम्बन्धमा चिकित्सकले अनुसन्धान सुरु गरेका छन्।
शरीरका विभिन्न ठाउँमा लागेको चोट र ढाडको दुई ठाउँमा भाँचिएको हड्डीले भने गम्भीर समस्या नदिने भएपनि दिमागमा देखिएको दाग के कारणले भएको भन्नेबारे अनुसन्धान सुरु भएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ। बुधबार बिहान भएको जहाज दुर्घटनामा गम्भीर घाइते भएका पाइलट शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।
दिमागमा देखिएको दागसम्बन्धमा एमआरआई गरेपछि मात्र केही भन्न सकिने न्युरो सर्जन डा।अमित थापाले बताए। एमआरआई बिहीबार नै गर्ने उनको भनाइ छ।
मर्मतका लागि भन्दै पोखरा विमानस्थलका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको रनवे छाड्ने बित्तिकै भुईमा बजारिएको थियो। दुर्घटनामा विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको थियो।

