काठमाडौं । चीनले अमेरिकासँग बढ्दो व्यापारिक र राजनीतिक तनावलाई देखाउँदै आफ्ना नागरिकलाई अमेरिका जानुअघि सावधानी अपनाउन आग्रह गरेको छ। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले बुधबार एक ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकी भूमिमा यात्रा गर्दा सम्भावित जोखिमको पूर्ण मूल्यांकन गर्न सुझाव दिएको छ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “अमेरिकामा चीनविरोधी घटनाहरू बढ्दै गएको, सुरक्षाको स्थिति जटिल रहेको, र चिनियाँ नागरिकमाथि विभेद हुने सम्भावना रहेकाले सावधानी अपनाउनु जरूरी छ।” यात्रा सँगसँगै चीनको शिक्षा मन्त्रालयले पनि अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्ष्य गर्दै अर्को एड्भाइजरी जारी गरेको छ। उक्त एड्भाइजरीमा विद्यार्थीसँग ‘सुरक्षासम्बन्धी जोखिमको मूल्यांकन गर्न’ अपिल गरिएको छ।
चीन र अमेरिकाबीचको व्यापार युद्ध पछिल्ला दिनमा झनै चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुहरूमा भन्सार शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्याएपछि चीनले पनि अमेरिकी वस्तुहरूमा ८४ प्रतिशत भन्सार शुल्क घोषणा गरिसकेको छ।
चीनका राष्ट्रपति सी जिनपिङले यसबारे प्रतिक्रिया दिँदै भने, “अमेरिकाको भन्सार नीतिको सामना गर्न चीनले आफ्ना छिमेकीहरूसँग सम्बन्ध अझ बलियो बनाउनु आवश्यक छ।” उनले जापान, दक्षिण कोरिया लगायतका एशियाली राष्ट्रहरूसँगको सहकार्यलाई प्राथमिकता दिने संकेत दिएका छन्।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, “जब चिनियाँ जनताको अधिकारमा चोट पुग्छ, सरकार चुप लागेर बस्दैन।” सरकारी पत्रिकाले सम्पादकीयमा लेखेको छ, “विश्वव्यापी ऐक्यबद्धताले व्यापारिक दादागिरीमाथि जित हासिल गर्न सक्छ।”
यो व्यापारिक द्वन्द्वले केवल दुई देशबीचको सम्बन्ध मात्र होइन, सम्पूर्ण अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा असर पार्ने संकेत देखिएको छ। चीनका एड्भाइजरीहरूले यात्रुहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सतर्क हुन चेतावनी दिएको छ।

