२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सिमलताल घटनाः भेटिएन हराएका बस, बस...

सिमलताल घटनाः भेटिएन हराएका बस, बस खोज्न प्रयोग गरिएको चुम्बक नै हरायो

सिमलताल घटनाः भेटिएन हराएका बस, बस खोज्न प्रयोग गरिएको चुम्बक नै हरायो

सीएनएन खबर
शनिवार, श्रावण १२ २०८१०९:१५
सीएनएन खबर
शनिवार, श्रावण १२ २०८१०९:१५
  • images

    काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक आज त्रिशूलीले बगाएको छ । 

    नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि आज भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा खोजी गरिएको थियो । 

    खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी, प्रहरी उपरीक्षक जनक पुरीले एउटा १९ किलोको चुम्बक हराएकाले अहिले बस र चुम्बक दुवैको खोजी जारी रहेको जानकारी दिए । 

    उनले अलि तल चुम्बकको सङ्केत मिलेको तर भेटिनसकेको जानकारी दिए । त्यहाँ १४ र १९ किलोको दुईवटा चुम्बक बसको खोजीका लागि प्रयोग गरिएको थियो ।

    गत आइतबारदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल डिजास्टर रेस्पोन्स फोर्स) बाट आएका १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा बस र यात्रुको खोजी गरिरहेको छ । 

    गएको असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नंको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । 

    उक्त बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । २४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ । अझै दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend