काठमाडौं । सिमलताल पहिरोमा त्रिशूली नदीमा बेपत्ता बस केराबारीमा भेटिएको भन्नेमा सत्यता नभएको जिल्ला प्रशासन कार्यालय चितवनले बताएको छ । विभिन्न सामाजिक सञ्जाल तथा मिडियामा आएको बस भेटिएको भन्ने समाचारमा सत्यता नभएको प्रशासनले बताएको हो। ‘बस अहिलेसम्म भेटिएको छैन’ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने ‘कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन।’
अहिले प्रशासन टोली फिल्डमै भएपनि जानकारी प्राप्त नभएको उनले बताए। चितवन प्रहरीले पनि बस भेटिएको विषयमा एक्सपर्ट टिमले पुष्टि नगरेको बताएका छन्।
केराबारी क्षेत्रमा रातोरंगको केही वस्तु त्रिशूलीमा तैरिएको देखेर सिमलतालबाट बगाएको बस हुन सक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै एक्सपट टिम केराबारी क्षेत्र पुगेर सुरक्षा निकाय फर्किएको छ।
दुईवटा बस र तिनमा सवार यात्रीको खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक त्रिशूलीमा हराएको छ। बेपत्ता बस र यात्रुहरुको खोजी गर्न नेपाल सरकारले भारत सरकारलाई पत्राचार गरेसँगै भारतले नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली नेपाल पठाएको थियो।
सो टोलीले ल्याएको पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेट अन्तरगर्तको १९ किलोको चुम्बक आज खोजी गर्ने क्रममा हराएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो। उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। १९ जना फेला परेका छन्।

