२०८३, आश्विन २० गते

images
  • विश्व
  • भारत–पाक तनाव चुलियो, सिन्धु जल सम्झौता...

भारत–पाक तनाव चुलियो, सिन्धु जल सम्झौता खारेज, पाकिस्तानी नागरिकलाई ४८ घण्टामा देश छाड्न आदेश

भारत–पाक तनाव चुलियो, सिन्धु जल सम्झौता खारेज, पाकिस्तानी नागरिकलाई ४८ घण्टामा देश छाड्न आदेश

बिहिवार, बैशाख ११ २०८२०७:४३
बिहिवार, बैशाख ११ २०८२०७:४३
  • images

    काठमाडौं । भारत प्रशासित जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ । साथै पाकिस्तानसँगको सिन्धु जल सम्झौता तोड्ने निर्णयसमेत गरेको छ ।

    बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको हो । साथै बिहीबार सर्वदलीय बैठक समेत बोलाउने निर्णय पनि भारत सरकारले गरेको छ ।


    यी हुन् भारत सरकारले गरेका पाँच ठूला निर्णय

    १.भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौता खारेज
    २.अटारी सीमानाका बन्द । भारत आएका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र स्वदेश फर्किन निर्देशन ।

    ३. पाकिस्तानी नागरिकको भिसा रद्द ।

    ४.नयाँदिल्लीस्थित पाकिस्तान हाई कमिसनमा तैनाथ पाकिस्तानी डिफेन्स एडभाइजर्सलाई भारत छाड्न एक हप्ताको समय ।

    ५.हाई कमिसनमा तैनाथ कर्मचारीको संख्या ५५ बाट घटाएर ३० कायम गर्ने ।

    आतंकवादी हमलामा पाकिस्तान संरक्षित आतंकवादीको हात रहेको भन्दै भारतले यी निर्णयहरु गरेको हो । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भने पहलगाम आक्रमणमा पाकिस्तानको कुनै पनि संलग्नता नरहेको बताएका छन् ।

    सिन्धु जलसम्झौता के हो र?

    विश्व बैंकको मध्यस्थतामा भारत र पाकिस्तानबीच सन् १९६० सेप्टेम्बर १९ मा सिन्धु जल सम्झौता भएको थियो । सिन्धु नदी प्रणालीका इन्द्रावती, झेलम र चिनाब नदीहरुको पानी बाँडफाँट सम्बन्धी यो एक ऐतिहासिक सम्झौता हो । जवाहरलाल नेहरुको पालामा भएको यो सम्झौता दुई देशका जलस्रोत व्यवस्थापनलाई लिएर विश्वकै सफल द्विपक्षीय सम्झौतामध्ये एक मानिन्छ ।

    यो सम्झौता अनुसार पाकिस्तानले ८० प्रतिशत पानी प्रयोग गर्दछ । यो सम्झौता रद्द हुँदा भारतले पानी आपूर्ति रोक्ने, बाँध बाँध्ने वा अन्त कतै मोड्न सक्छ, जसले पाकिस्तानको कृषि, पिउने पानी र उद्योग कलकारखानामा असर पुग्न सक्छ ।

    त्यसैले सिन्धु जल सम्झौता रद्द गर्ने निर्णयलाई असामान्य मानिएको छ । यसले दुई देशबीचको शक्ति सन्तुलन, जल नीति र सुरक्षा नीतिमा गहिरो असर पार्न सक्ने सम्भावना छ ।

    घटनाको अनुसन्धान जारी, जम्मु कश्मीर बन्द

    भारतको गुप्तचर निकायका अनुसार आक्रमणमा लस्कर ए तोयबाको प्रोक्सी विङ्ग द रजिस्टेन्स फ्रन्ट (टीआरएफ) को हात छ । पहलगाम आक्रमणमा संलग्न आतंकवादी भनेर भारतले तीन जनाको स्केच जारी गरेको छ । उनीहरुको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भनिएको छ । पर्यटकीय क्षेत्र पहलगाममा घुम्न गएका पर्यटकहरुमाथि गोली बर्साउँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो । २० जनाभन्दा बढी घाइते छन् ।

    घटनाको अनुसन्धानका लागि भारत सरकारको राष्ट्रिय अनुसन्धान एजेन्सीको टोली पहलगाम पुगेको छ । सोधपुछका लागि दर्जनौं व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ । सो घटनाका कारण आज जम्मु कश्मीर बन्द छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको भर्त्सना गर्दै आतंकवादीहरुलाई नछाड्ने चेतावनी दिएका छन् । नेपाल सरकारले पनि आतंकवादविरुद्ध भारतलाई साथ दिने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend