काठमाडौं । नेपालको पश्चिमी भूभागबाट शनिबार पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बदली कायम रहने जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गरेका छन् ।
शनिबार साँझ गण्डकी प्रदेशस्थित गोरखाको हिमाली तथा पहाडी भेगबाट र दार्चुलास्थित सीमा क्षेत्रबाट सुदूरपश्चिमको हिमाली तथा पहाडी क्षेत्रको बाटो हुँदै बादल छिरिसकेको उनले बताए । बादल हिँडेको बाटोमा वर्षा भइरहेको छ ।
आइतबार र सोमबार पनि बदली रहेको र आजभन्दा केही बढी बदलीको सम्भावना रहेको छ । हल्कादेखि मध्यमसम्म वर्षा हुने भए पनि ठूलो वर्षाको सम्भावना भने कम रहेको उनले बताए ।

