काठमाडौं । पाकिस्तानले बुधबार चिनियाँ निर्मित जे-१०सी लडाकु विमान प्रयोग गरी भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको छ। भारतले जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिशोधस्वरूप पाकिस्तानमा हवाई आक्रमण गरेपछि दुवै देशबीच तनाव थपिएको हो।
पाकिस्तानी विदेश मन्त्री इशाक डारले संसदमा जानकारी दिँदै चिनियाँ जे-१०सी विमानमार्फत भारतीय लडाकु विमान खसालिएको खुलासा गरेका हुन्। डारका अनुसार पाकिस्तानले सैन्य कारबाही सकिएलगत्तै चीनलाई जानकारी गराएको थियो, र बुधबार बिहानै पाकिस्तानी विदेश मन्त्रालयमा चिनियाँ राजदूतको भ्रमण भएको थियो।
पाकिस्तानी दाबीअनुसार भारतका खसालिएका विमानमध्ये तीनवटा फ्रान्समा निर्मित रफाल, एउटा मिग-२९ र अर्को सुखोई सु-३० थिए। यद्यपि भारतले उक्त घटनामा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। स्वतन्त्र रूपमा पनि यी दाबीहरूको पुष्टि भएको छैन।
‘द न्यूयोर्क टाइम्स’ले उद्धृत गरेका भारतीय अधिकारीहरूले तीन विमान दुर्घटनामा परेको पुष्टि गरे पनि त्यसको कारण स्पष्ट नभएको जनाएका छन्। अन्य दुई भारतीय सुरक्षा अधिकारीहरूले पनि केही विमान खसेको संकेत दिएका छन्, तर विस्तृत विवरण दिएका छैनन्।
भारतले ‘अपरेसन सिन्दुरु’ अन्तर्गत भारतीय भूमिबाटै पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर र पाकिस्तानका विभिन्न चार स्थानमा हमला गरेको बताएको छ। त्यस आक्रमणमा ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तानले जनाएको छ। जबाफस्वरूप पाकिस्तानले भारतीय लडाकु विमानहरू खसालेको दाबी गरेको हो।
यसबीच, भारतको नियन्त्रणमा रहेको कश्मीरमा पाकिस्तानको जवाफी कारबाहीमा १३ सर्वसाधारणको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको भारतले जनाएको छ।

