एजेन्सी । भारत-पाकिस्तानबीच युद्धविरामपछि जम्मुको जनजीवन सामान्य देखिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मानिसहरू घरबाट बाहिर निस्किएका छन्, केही पसल खुलेका छन् र सडकमा आवतजावत सुरु भएको छ।
यसअघि युद्धविराम घोषणा भएपछि पनि शनिबार राति जम्मुवासीले आफ्ना घर वरिपरि ड्रोन देखेका थिए। पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमा नजिकै रहेका गाउँबाट फोन गर्ने मानिसहरूले युद्धविराम भएको केही समयपछि पनि घर वरिपरि हल्का गोलाबारी भएको आवाज सुनिएको बताएका थिए।
स्थानीयका अनुसार ड्रोनहरू लामो समयसम्म आकाशमा उडिरहेका थिए। तर यी गतिविधि केही घण्टापछि बन्द भए। भारत सरकारले राति अबेर पत्रकार सम्मेलन आयोजना गरेको थियो। जसमा उसले पाकिस्तानबाट ड्रोन र हल्का गोलाबारी भएको बताएको थियो। यद्यपि, यसपछि स्थिति शान्त भयो। आइतबार बिहान स्थानीय बासिन्दासँग कुरा गर्दा स्थानीयले रात शान्तिपूर्वक बिताएको बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

