काठमाडौँ । सरकारले दक्षिण कोरियाका लागि जारी गर्ने नो अब्जेक्सन लेटर (एनओसी) स्थगन गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि एनओसी जारी गर्न रोकेको हो । मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालले तत्कालका लागि एनओसी जारी गर्न स्थगन गरिएको बताए ।
कोरियामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूले दुःख पाएको गुनासो व्यापक रूपमा आएपछि तत्कालका लागि स्थगन गरिएको उनको भनाइ छ ।
गुनासो आउने थालेपछि परराष्ट्र मन्त्रालयले कोरियास्थित नेपाली राजदूतावाससँग नेपाली विद्यार्थीहरूको अवस्थाबारे जानकारी माग गरेको थियो ।
त्यसको जवाफमा दूतावासले नेपाली विद्यार्थीको अवस्था र उनीहरूले पाउने डी–२ र डी–४ भिसाका विषयमा जानकारी गराएको थियो । दूतावासले कोरियामा दिनानुदिन नेपाली विद्यार्थीहरू समस्याग्रस्त हुँदै गएको जनाएको छ ।
श्रम मन्त्रालयले भन्यो, कुनै सम्झौता भएको छैन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार नपठाईएको स्पष्ट पारेको छ । आईतबार एक सूचना जारी गर्दै मन्त्रालयले उक्त कुरा बताएको हो ।
पछिल्लो केही दिन यता सामाजिक सञ्जालमा ‘नेपाल सरकार र कोरिया सरकारबीच यस्तो सम्झौता भएको र भगिनी सम्झौता कायम गरेका स्थानीय तहले मन्त्रालयमा सम्पर्क गर्नू’ भन्ने बेहोराको पत्र सार्वजनिक हुन थालेको छ ।
उक्त पत्र सार्वजनिक भएसँगै भ्रमण नपर्न मन्त्राययले आग्रह गरेको हो । यसअघि मन्त्रालयले माघ २०८१ मा समेत स्पष्टीकरण सार्वजनिक गर्दै यस्तो सम्झौता नभएको बताएको थियो ।

