काठमाडौँ । सरकारले एकैपटक एक दर्जनबढी सचिवको सरुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २ जना सहसचिवको सचिवमा बढुवासँगै पदस्थापना समेत गरेको छ ।
सोमबारको बैठकले नवनियुक्त सचिव शोभाकान्त पौडेललाई गण्डकी प्रदेशको प्रमुख सचिव र भूपाल बराललाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ भने प्राविधिकतर्फ बढुवा भएका दिनानाथ मिश्रलाई रिक्त जल तथा ऊर्जा आयोगको सचिवालयमै खटाइएको छ ।
यस्तै, सोमबारको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चुडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । शिक्षा क्षेत्रका विज्ञ मानिने पौडेललाई शिक्षामा खटाइएसँगै त्यहाँका सचिव डा. दीपक काफ्लेलाई राष्ट्रपति कार्यालय पठाइएको छ ।
राष्ट्रपति कार्यालयका सचिव डा. रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य) मा सरुवा गरिएको छ भने त्यहाँका सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ ।
यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोगको सचिवमा सरुवा गरिएको छ । आयोगका विज्ञ मानिने शर्माले प्रवक्ता रहँदा आयोगको कामकारबाही तथा स्तर वृद्धिमा उल्लेख्य योगदान दिएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (प्रशासनतर्फ)का सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । यी दुवै ठाउँमा रिक्त रहेको थियो ।

