काठमाडौँ । प्रतिनिधि सभाको मंगलबार (आज) बस्ने बैठकमा निजामति विधेयक पेश हुँदैछ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा उक्त विद्येयक पेश हुने भएको हो ।
संसद्मा सो विद्येयक पेश हुँनै लाग्दा निजामति कर्मचारीले भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । लामो समयदेखि कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन दबाब दिदै आएको संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालले आज पनि धर्नालाई निरन्तरता दिएको हो ।
युनियनले संघीय संसद भवनको पश्चिम गेटमा आयोजना गर्ने भनिएको धर्ना कार्यक्रमलाई संशोधन गर्दै आज सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । आज बसेको आन्दोलन निर्देशक समितिको बैठकले धर्ना कार्यक्रमलाई जेष्ठ २३ गतेसम्म निरन्तर रूपमा सञ्चालन गरिने निर्णय गरेको छ ।
जेष्ठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले कालोपट्टी बाँधी सेवा प्रवाह गर्ने पनि निर्णय गरेको छ ।
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न कर्मचारी संगठनका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति थियो।
आज दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी थप आन्दोलनका कार्यक्रम घोषणा सँगै आफ्ना एजेण्डाबारे जानकारी गराउन पत्रकार सम्मेलन तय गरिएको छ ।
कर्मचारीमैत्री संघीय निजामती सेवा ऐनको माग गर्दै कर्मचारीहरु लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

