काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ¬‘क’ वर्गका बैंकको मान्यता प्राप्त बैंकले एटीएम मेसिन राख्नका लागि ७६ लाख ४३ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र बैंकको एटीएम मेसिन सञ्चालन गर्नका लागि उक्त रकम बुझाउनुपर्ने भएको हो । कार्यालयले बुधबार एक सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको हो ।
सूचना अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ हाल ग्लोबल आइएमई बैंकको एटीएम रहेको कोठामा ३ वटा एटीएम मेसिन राख्न मिल्ने भएको भन्दै इच्छुक बैंकले दरखास्त आह्वानका लागि सूचना प्रकाशन गरेको हो ।
१५ दिनको समय राखेर प्रकाशन गरिएका सूचना अनुसार १.३२ वर्गमिटर क्षेत्रफलमा एटीएम मेसिन राख्न सकिनेछ । दरखास्तका साथ ३ हजार ३९० रुपैयाँ फाराम दस्तुर, ७६ लाख ४३ हजार २७८ रुपैयाँ न्युनतम वहाल रकम कबोल गर्नुपर्नेछ ।
कार्यालयले ५ वर्षका लागि एटीएम विमानस्थल परिसरमा राख्नेगरी सूचना प्रकाशन गरेको हो ।


