काठमाडौँ । एअर इन्डियाको विमान बिहीबार दिउँसो अहमदाबाद विमानस्थलबाट उडेको ३ मिनेटमै दुर्घटनाग्रस्त भएको पाइएको छ ।
गुजरातको अहमदाबाद विमानस्थलबाट ग्याटविक (लन्डन) तर्फ उडिरहेको एअर इन्डियाको विमान उडानको केही समयमै खसेको हो ।
विमान यात्रु र चालक दलका सदस्यसहित २४२ जना सवार रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । जसमा १६९ जना भारतीय, ५३ जना बेलायती, १ जना क्यानाडेली र ७ जना पोर्चुगिज नागरिक थिए । विमानमा दुई चालक र १० जना चालक दलका सदस्य रहेको बताइएको छ।
विमान डाक्टरहरू बस्ने होस्टेलमा खसेको त्यहाँको प्रहरी अधिकारीले बताएका छन्। उक्त होस्टेलमा ५०/६० जना बस्दै आएको बताइएको छ।
विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानी पनि सवार रहेको बताइएको छ। घटनाको पूर्ण विवरण आइसकेको छैन। उद्धार कार्य जारी रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको अवस्था अवलोकन गरेका छन् । उनले तत्काल उद्धार तथा राहत कार्य थाल्न निर्देशन पनि दिएका छन् ।
सामाजिक सञ्जालमा फैलिएका दृश्यहरूमा आकाशमा बाक्लो कालो धुवाँ देखिएको छ । एअर इन्डियाले जारी गरेको विज्ञप्तिमा विमान अहमदाबादबाट ग्याटविक ९लन्डन० गन्तव्यका लागि उडेको उल्लेख छ ।

