काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । निरन्तर वर्षा भएपछि विमानस्थलको भिजिबिलीटी ठप्पै भएका कारण विमानस्थल बन्द गरिएको हो ।
शुक्रबार विहान करिब साढे ११ बजेदेखि परेको भिषण वर्षासँगै विमानस्थलको भिजिविलीटी कम भएका कारण विमानस्थल बन्द गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।
उनका अनुसार भिजिबिलिटीका कारण अन्तर्राष्ट्रिय र आतरिक उडानका जहाजको उडान तथा अवतरण प्रभावित भएको छ । विमानस्थल अवतरण गर्न नसक्ने भएको कारण केही वायुसेवा आकासमै फन्को लगाउँदे बसेका छन् भने केही डाइभर्ट भइरहेका छन् ।
मौसमकै खरावीका कारण काठमाडौंबाट विराटनगर गइरहेको बुद्ध एयरको जहाज सिमरा डाइभर्ट भएको छ । विराटनगरबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाज होल्ड गरेर अवतरणको लागि पर्खिरहेको छ ।
पानी रोकिएर मौसम खुल्नासाथै होल्डमा भएका जहाजले अवतरण गर्ने र डाइभर्ट भएका जहाज पनि आउने भएकोले आधा घण्टादेखि केही वायुसेवामा आकासमा फन्को लगाउँदै बसेका छन् ।
सिम्रिक एयरको हेलिकोप्टर आकस्मिक अवतरण
सिम्रिक एयरको हेलिकप्टर दाङको भालुबाङमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट बिरामी ल्याउन बाजुरा जान लागेको हेलिकप्टर खराब मौसमका कारण भालुबाङस्थित सशस्त्र प्रहरीको २९ नम्बर गणमा आकस्मिक अवतरण गरिएको हो ।
करिब १ घण्टा अघि अवतरण गरिएको हेलिकप्टर अझैँ त्यही रहेको गणपति एसपी मनोज धितालले जानकारी दिए ।
भीषण वर्षाका कारण भालुवाङबाट हेलिकप्टर उड्न नसकेको हो ।

