२०८३, आश्विन १९ गते

images

म घर भत्काएर सडक बनाउँदिन

म घर भत्काएर सडक बनाउँदिन

आइतवार, आषाढ १ २०८२१०:३२
आइतवार, आषाढ १ २०८२१०:३२
  • images

    वि.सं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा चिरीबाबु महर्जन निर्वाचित भए । पहिलो कार्यलय सफल बनाएका उनी पुनः २०७९ सालमा दोस्रो निर्वाचनमा समेत दोस्रो कार्यकालका लागि निर्वाचित भए । पहिलो कार्यकाल र दोस्रो कार्यालय गरी ललितपुर महानगरमा झन्डै ८ वर्ष बिताएका मेयर महर्जनसँग हालसम्म गरेका उपलब्धी, प्रदेश र केन्द्र सरकारसँगको सम्बन्ध लगायत ललितपुर महानगरपालिकाको विकास निर्माणमा केन्द्रीत भएर सीएनएन खबरले गरेको कुराकानीको सम्पादीत अंश । 

    तपाईँ ललितपुर महानगर प्रवेश गरेको पहिलो र दोस्रो कार्याकाय गरी अहिलेसम्म ८ वर्ष बितिसक्यो । यो बिचमा मैले यो–यो गरेँ भनेर तपाईं आफू सन्तुष्ट हुनेगरी के–के काम भए ?

    मैल महानगर प्रवेश गरेको ८ वर्षमा धेरै काम गरे झै लाग्छ । यो अवधिमा मैले गरेको काम मलाई चित्तबुझ्दो भएको सिमित छन् । तीमध्ये महानगरभित्र रहेका भित्रै सडकहरु हामीले चित्तबुझो बनाएका छौँ । यो धेरै कठिन काममध्येको एक थियो । हामीले सार्वजनिक खरिद ऐन २०६३ मान्नुपर्छ । त्यसमा दायाँबायाँ गर्ने छुट हामीलाई छैन । तर, त्यसमा सबैभन्दा कम बिट गर्नेले नै खरिद प्रक्रियामा भाग लिन पाउँछन् । काम पाउनकै निमित्त ठेकेदारबीच घमासान नै हुन्छ । यहाँसम्म हुन्छ कि इन्जिनियरले १ करोड अनुमान गरेको काममा ठेकेदारले ४५ प्रतिशतसम्म कम गरेर बिडमा सहभागी हुन्छन् । कममा बिड गरेपछि उसले ठेक्का पाउँछ, अनि हराउँछ । काम गर्ने बेला ठेकेदार नै हराएपछि जनताले दुःख पाउँछन् । 

    हामीले उक्त खरिद नियमावली अनुसार नै केही कुरा थप गरेर नयाँ नियम बनायाैँ । जसमा हामीले पिच रोडको थिग्नेस डेढ इन्चनको हुनुपर्ने नियम बनायाँै । त्यो पिच रोड बनिसकेपछि हामी जनप्रतिनिधिले भनेको ठाउँमै नमूना परीक्षण (त्यसलाई कोर कटिङ पनि भनिन्छ) गर्नुपर्छ । जनप्रतिनिधिले भनेकै स्थानबाट बोरिङ गरेर परीक्षणका लागि पिचको नमूना लिएपछि त्यसको घनत्व परीक्षण गरिन्छ । उहाँहरु माहिर हुनुुहुन्छ । उहाँकै साथीहरुको ल्याब हुन्छ । तर, हामीले महानगरले तोकेकै ल्याबमा घनत्व परीक्षण गर्नुपर्ने भनेका थियौँ । त्यसमा ९८ प्रतिशतभन्दा कम आयो भने रद्द गर्ने भनेका थियौँ । 

    यी तीनवटा नियम बनाएर भित्रि सडकको पिच गराउँदा बाहिरको भन्दा एकदम मजबुत बनेको छ । कसैले कुटो कोदालो गरेन भने अबको ८ देखि १० वर्षसम्म टिक्छ । ८ वर्षको अवधिमा हामीले पहिलो वर्ष खासै काम गर्न सकेनौँ । दोस्रो वर्षदेखि हालसम्म आउँदा भित्रि सडकहरु एवान बनाएका छाैँ । हामीले लगभग ७२ किलोमिटर बाटो पिच गरिसकेका छौँ । असोज र ११ र १२ गते आएको बाढीका कारण केहीमा क्षति भयो, तर अन्यको अवस्था एकदमै राम्रो छ । हामीले गरेका असल अभ्यासमध्ये यो एक हो । यसलाई अन्य पालिकाहरुले समेत फलो गर्ने गरेका छन् ।

    दोस्रो नम्बरमा हामीले सम्पदा क्षेत्रमा कायापलट नै गरेका छौँ भन्छु म । यो सम्पदाको काम गर्दा नेपाल सरकारले टेन्डर (बोलपत्र) नगर्नु र गरेपनि रोक्छु भनेर सिधै भनिदिएको थियो । टेन्डर गर्यो भने कम मूल्यमा बिट हुने र काम नहुने परिपाटी भएपछि मैले सरकारलाई नै उक्त कुरा भनेर रोक्न लगाएको हुँ । राजा सिदिनरसिंह मल्ल, श्रीनिवास मल्लले पाटन र भूपेन्द्र मल्लले भक्तपुर दरबार जसरी बनाए, त्यो एकदमै क्वालिटीको काम थियो । यो क्वालिटीको काममा बोलपत्र माफर्त काम गर्दा हुँदैन । मैले ललितपुर महानगरभित्र सम्पदाको कुनैपनि काम गर्दा टेन्डरबाट गराउदिन भनेर अडान नै लिएँ । नेपाल सरकारले कुनै टेन्डर आह्वान गर्यो भने म त्यो गर्न दिन्नँ भनेर अडान लिएर प्रधानमन्त्रीलाई पनि त्यही भनेको थिएँ । उहाँलाई त्यो कुरा भनेपनि पाटन दरबारस्क्वायरमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणका लागि ठेक्का आह्वान भयो । जुन मन्दिर केही समयअघि हामीले राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट उद्घाटन गरायौँ । 

    त्यो मन्दिर बनाउनका लागि गोरखापत्रमा टेन्डर निस्कियो । मैले पुरातत्व विभागका महानिर्देशकलाई उक्त टेन्डर रद्द गर्न आह्वान गरेँ । मैले गरेको आह्वान अनुसार उहाँले टेन्डर नै रद्द गर्नुभयो, अनि हामी आफैले बनायाैँ । त्यो भन्दा अघि हामीले भिमसेन मन्दिर बनायौँ । संघीय सरकारबाट एक रुपैयाँ पनि सहयोग नलिई हामीले चन्दा उठाएर उक्त मन्दिर बनाएका थियौँ । बालकुमारी बनायाैँ, अहिले बुङमतिमा मन्दिर बनाउने तयारी थालेका छौ । यस्तै, हामीले खोकनामा मन्दिर बनायाैँ । हामीले ललितपुर महानगर क्षेत्रभित्रको भिमकाय मन्दिर अधिकांश सबै बनिसकेका छन् । यी जतिपनि काम भए त्यसमा हामीले ठेक्कापट्टाबाट गरेनौँ । ठेक्कापट्टाबाट नगर्दा तोकिएकै समयमा क्वालिटीको निर्माण भए । 

    हामीले लामो समयदेखि रोकिएका जात्रापर्व पुनः सञ्चालन गर्यौं । रोकिएकालाई सुरु गर्यौं भने चलिरहेका जात्रालाई हामीले अक्षयकोषको स्थापना गरिदियौं । अब ती जात्रापर्व रोकिदैनन् । पहिला हाम्रा पुर्खाहरुले ती जात्रापर्व गर्न जग्गा राखेका हुन्थे । तर, नेपाल सरकारको अदुरदर्शीताका कारण ती जग्गाहरु मासिएर गए । अब आम्दानी नै नभएपछि खर्च गर्नसक्ने नभएर ती पर्वहरु रोकिएका थिए । हामीले ती पर्वहरुलाई नरोकिने गरी अक्षयकोष स्थापना गरिदियौँ । धेरै जात्रापर्वहरु अब रोकिदैन् । 

    २०७२ सालमा आएको भूकम्पले जति तहसनहस बनायो, अब आउने भूकम्पले त्यस्तो बनाउँदैन । हामीले पुरानै संरचनामा मजबुत हुनेगरी मठमन्दीरहरु पुननिर्माण गरेका छाैँ । पुरातात्विक सम्पदा पुननिर्माणका लागि ललितपुरमा आवश्यक जनशक्ति पर्याप्त छ । हामीले हामीसँग भएकै जनशक्तिको प्रयोग गरेर भूकम्पले क्षति पुर्याएका संरचना पुरानै रुपमा पुननिर्माण गर्न सकेका हौँ । 

    अहिले सहकारीसंस्थाहरु स्थानीय तहमा दर्ता गर्नुपर्ने नियम छ । तर, हामीले कुनै पनि सहकारी संस्थाहरुलाई दर्ता गरेनौँ । मलाई धेरैले प्रश्न गर्नुभएको थियो, तर हामीले यो हामीबाट सम्भव छैन भनेर दर्ता गरेनाैँ । यसको नियामक निकाय फितलो भएका कारण हामीले दर्ता नगरेका हौ । भनिन्छ नि पैसा धेरै भयो भने महादेवको तीन नेत्र खुल्छ भनेर । दर्ता गर्नेबेला म सँग पनि थुप्रै सहकारीको अनुभव थियो । तर अहिलेको जस्तो विघ्न थिएन, यदाकता भागेको भनिएको सुनिएको थियो । तर, अहिलेको गतिविधि देख्दा दर्ता नगरेर ठिक गरेछौँ भन्ने भएको छ । संविधानको अनुसूची ८ मा सहकारी संस्थालाई स्थानीय तहमा दर्ता गर्ने अधिकार छ । तर, त्यो अधिकार हामीलाई भएतापनि म चाँही एउटा पनि दर्ता गर्दिनँ भनेर मैले बोलेँ । सबैतिर कुरा आए, ललितपुरका सहकारीकर्मीहरु मेरो विरोध गर्न समेत आउनुभयो । मैले उहाँहरुलाई सिधै भने, म दर्ता गर्दिनँ । तपाइँले मलाई दर्ता गर्न मानेर भनेर मुद्दा हाल्नुस् म हार्छु । हारेपछि देखाजायगा, तर म चाहीँ दर्ता गर्दिनँ भनेर मैले अडान राखेँ । 

    उहाँहरुले मलाई मुद्दा पनि हाल्नुभएन, हामीले अहिलेसम्म एउटा पनि दर्ता गरेका छैनाैँ । अहिले सहकारीको अवस्था खत्तम छ, तर यसमा ललितपुर महानगर जोगिएको छ । हामीले दर्ता नगरेपनि नगरभित्रका जनताको समस्या कसरी समाधान गर्ने भनेर हामी लागिपरेका छौँ । हामीले सरकारी जग्गा, प्रति जग्गा र एलानी जग्गा कसैलाई पनि नदिने अडान लिएका छौँ । अहिलेसम्म हामीले १ आना पनि जग्गा कसैलाई दिएका छैनौँ । तर, त्यसको बदलामा मिल्ने हदसम्ममा हामीले प्रति जग्गा कायम गर्न लागिपरेका छाैँ । हामीले लगनखेलमा रहेको राजदल ब्यारेकसँग कुरा गरौँ । उहाँहरुले प्रयोग गर्नुभएको ३० रोपनी जग्गा हामीले फिर्ता लिएका छौँ । हामीले त्यहाँ टिकाभैरवबाट पानी ल्याएर पोखरी बनाउने तयारी गरेका छौँ । पुरानो पोखरी संरक्षणमा हामीले उक्त जग्गा ल्याएका हौँ । 

    पहिला १४.२ किलोमिटर परबाट राजकुलो आउथ्यो । तर, बीचमा कुलोको संरचना नै हरायो । मैले पुनः सोही स्थानबाट कुलोमा पानी ल्याएर पोखरी भर्ने योजना अनुसार नै अहिले काम भैरहेको छ । हामीले आधाजति संरचना निर्माण बनाइसकेका छौँ, आधा काम जारी छ । राजदल भएकै स्थानमा २०३४ सालमा एउटा विद्यालयलाई १४ रोपनी जग्गा दिईएको रहेछ । त्यहाँ विभिन्न विवाद भएको थियो, म मेयर भएपछि उक्त मुद्धा जितेर सो जग्गा समेत फिर्ता भैसकेका छ । हामीले पुरानो पोखरीको संरक्षण गर्दै कमलको फूल फलाउने योजना हाम्रो छ । त्यहाँ अब केही समयमै कमलको फूल फूलेको देख्न सकिन्छ । हामीले ललितपुर महानगरलाई ग्रिनरी शहर बनाउन कुनै कसुर बाँकी राखेका छैनाैँ । 

    chiribabu maharjan1.JPG

    हामीले ललितपुर महानगरलाई बस्नयोग्य सहर बनाउने तयारीमा छौँ । महानगरभित्र लगभग सबै स्थानमा फोहोर मुक्त बनाइसकेका छौँ । हामीले जेष्ठ नागरिकको राम्रोसँग टेककियर गरेका छौँ । उहाँहरुलाई घर घरमा गएर सबै वडाले सामाजिक सुरक्षा भत्ता दिने गरेको छौं । उक्त भत्तासँगै उहाँहरुको मेडिकल डाक्टरसहितको समूहले घर घरमै गएर स्वास्थ्य परीक्षण गर्न लागेका छौँ । आगामी वर्षभित्र २२/२३ वटा वडामा उक्त काम गर्ने हाम्रो योजना छ । यस्तै, हामीले उहाँहरुलाई निःशुल्क निमोनिया खोप दिएका छौँ । निमोनिया खोप धेरै महँगो पर्ने रहेछ । एक पटक निमोनिया खोप लगाएपछि निमोनिया नहुने भन्ने रहेछ । हामीले ७७ वर्ष पूरा भएका जेष्ठ नागरिकलाई निशुल्क रुपमा खोप लगाउने गरेका छाैँ । 

    स्मार्ट स्टेट लाइट, आर्टिफिसियल ट्राफिक लाइट हाम्रै कन्सेप्ट हो । हामीले एउटै छानामुनि विपतका सबै यन्त्रहरु तयारी अवस्थामा राखेका छौँ । हाम्रो जुद्ध वारुण यन्त्रमा दमकल, एम्बुलेन्स, शव वाहन, नगर प्रहरी, एलएमसी अलर्ट सबै राखेका छाैँ । तपाईंलाई केही काम पर्यो भने मेयरसँग आउनु पर्दैन । ११३१ मा फोन गर्नुस्, फोन गरेको ४ मिनेटमा तपाईंको काम हुन्छ । तपाईं महानगरमा कुनै काम लिएर आउनुभयो भने कुनै पनि शाखामा जानु पर्दैन । हामीले एकद्धार प्रणाली कार्यान्वयनमा ल्याइसकेका छौँ । एकद्धार प्रणालीमा तपाईंको फाइल दर्ता भएपछि कामको प्रगति तपाईंको मोबाइलमा म्यासेज आउँछ । मोबाइलमा आएको सूचना अनुसार नै तपाईंको काम हुन्छ, अधिकृतहरुको कोठा कोठा जानुपर्दैन । 

    तपाईंले लगातार दोस्रो पटक ललितपुर महानगरपालिकाको नेतृृत्व सम्हाल्दै गर्दा के कस्ता कानूनी तथा नीतिगत उल्झन भोग्नु पर्याे ?

    संसदको काम नै नीति नियम बनाउने हो । उहाँहरुले एकै चोटी सबै निति बनाएर दिए हुने नी । नीति नियम बनाउन संघीय संसद्मा जुन सिष्टम लागू भएको छ, हाम्रो स्थानीय तहमा पनि त्यही नै लागू हुने हो । हामीले त्यही अनुसार नै नीति निर्माणको काम गर्दै आएका छौँ । अहिलेसम्म हामीले महानगर चलाउनका लागि आवश्यक पर्ने सबै कानुनहरु बनाइसकेका छौँ । पछिल्लो हिउँदे अधिवेशनमा हामीले एउटा नयाँ निर्णय गर्यौं । हामी आउनुभन्दा अघि १८ वर्षसम्म कुनै पनि चुनाव भएका थिएनन् । त्यो बीचमा धेरै उत्तारचढावका कामहरु भए । 

    हामीले उक्त समयमा निर्माण सम्पन्न भएका घरहरुको नक्सापासका लागि एक पटकको मौका दिने निर्णय गर्याे । जति बन्यो त्यसलाई अभिलेखिकरणको मौका दियाैँ । अभिलेखिकरणका लागि कुनै पनि पालिकासँग कानुन थिएन । कानुन बनाउदा सभाले पारित गर्नुपर्छ । पालिकाको बोर्डले पारित गर्न मिल्दैन । हिउँसो अधिवेशनमा हामीले अभिलेखिकरणको ऐन पारित गर्याे । सोही बमोजिम हामी अभिलेखिकरण गर्न गैरहेका छौँ । समय सापेक्ष आवश्यक भएका ऐन तथा कानुनहरु हामीले बनाइराखेका छौँ । 

    संघ र प्रदेश सरकारको सहयोग कस्तो रह्यो ?

    संघ र प्रदेश सरकारसँगको मेरो सम्बन्ध नराम्रो छैन । स्थानीय सरकार भनेको प्रत्यक्ष जनतासँग जोडिएको सरकार हो । जनतासँग प्रत्यक्ष जोडिएको हामी, उहाँहरुलाई केही पर्योभने हामीकहाँ आइहाल्नुहुन्छ ।  हामीले अहिलेसम्म स्थानीय सरकारसँग भएर गर्नुपर्ने कामहरु केही बाँकी राखेका छैनौँ । संघ र प्रदेशको कानूनसँग हामी बाझिनु हुँदैन् । 

    म एउटा उदाहरण भन्छु । नेपालको कानूनले बाइसाइकललाई चिनेको छैन । बाइसाइकललाई कतै पनि ब्यख्या नै गरिएको रहेनछ । हामीले ४२ किलोमिटर साइकल लेन बनायाैँ । त्यसलाई कार्यान्वयन गर्न हामीसँग कानून नै छैन् । हामीले कानून बनाउँदा संविधान, केन्द्र अथवा प्रदेशको ऐनमा टेक्नुपर्छ । केन्द्र सरकारकै कानून नभएपछि हामीले नयाँ ऐन बनाउनै सकेनौँ । हामीले सार्वजनिक सवारीका रुपमा बाइसाइकललाई पनि समेट्नुपर्छ भनेर केन्द्र सरकारसँग माग राखेका छाैँ । हामीले नचाहिने कामहरु गरेका छैनौँ, त्यो हुँदा प्रदेश र केन्द्र सरकारसँगको सम्बन्धमा सुमधुर छ । 

    जनताको अपेक्षा र स्रोतको सीमितताको ग्याप कसरी पूर्ति गर्दै हुनुहुन्छ ?

    हामी काठमाडौं महानगर जत्तिको धनी त छैनौँ । तर भर्खर बनेका नगरपालिकाजस्तो गरिब पनि छैनौँ । हामी ठिक्कमा पर्छौं । हामीले जे जति स्रोतको अनुमान गछौँ (केन्द्र तथा प्रदेश सरकारबाट पाउने अनुदान) हामीले आफ्नै तबरबाट उठाउने राजश्वलाई आधार बनाएर हामीले बजेट तुर्जमा गर्ने गरेका छाैँ । अहिलेसम्म त्यो मिट भैरहेको छ । अहिले केही आवश्यकता भयो तुरुन्तै बनाइदिनुपर्याे भन्ने जनताको माग तथा गुनासाहरु हुन्छन्, तिनीहरुलाई हामीले अवस्था हेरेर बनाउने गरेका छाैँ । तत्काल सकिन्छ, गरिहाल्छौँ, नसकिने भयो भने अर्काे समयलाइ हुन्छ भनेर पठाउछौँ । स्रोतको सिमितताको ग्याप धेरै भयो भने १ वर्ष हुन्छ । विधि विधान अनुसार गर्न केही समय लागिहाल्छ । 

    अन्त्यमा, नवीकरणीय उर्जा क्षेत्रमा लतिलपुर महानगर के गर्दैछ ?

    नवीकरणीय उर्जामा धेरै स्थान र ठूलो लगानीको आवश्यकता पर्छ । हामीकहाँ ओपन स्पेश धेरै छैन । जे जति भए त्यो भन्दा बाहेक यो वा त्यो बहानामा खुला स्थान मास्न म दिन्नँ । हामी सानो हुँदा यहाँ यत्रत्यत्र खेलमैदान थिए । असार साउनमा धेरै स्वीमिङ पुल थिए । अहिले त्यस्तो ठाउँ कहीँ छैन । हामीले पूराना संरचनालाई सकेसम्म पूर्ववत अवस्थामा फर्काउने अवस्थामा छौँ । घर भत्काएर सडक म बनाउँदिन । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend