काठमाडौँ । १५ दिनको फरकमा दुई ठूला हवाई दुर्घटना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले हवाई सुरक्षामा ध्यान दिएका छन् । उनले यसअघि पूर्वनिर्धारित सबै भेटघाट तथा कार्यक्तम स्थगित गर्दै दुर्घटनामा ध्यान दिने बताएका हुन् ।
करीब १५ दिनको अवधिमा दुईवटा हवाइ दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निश्कर्ष सहित मन्त्रालयले हवाइ सुरक्षाको विषयलाई उच्चतम् प्राथिमकतामा राख्दै बुधबार बाटै तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको हो ।
मन्त्रीको सचिवालयले एक विज्ञप्ती जारी गर्दै मन्त्रीको एक हप्ताभरका लागि पूर्व निर्धारित सबै औपचारिक कार्यक्रमहरुलाई स्थागित तथा जरुरी बाहेकका भेटघाटलाई बन्द गरी हवाई सुरक्षाका विषयमा केन्द्रित गर्दै आवश्यक कदम चाल्न सिंगै मन्त्रालय र माताहतका निकायहरुलाई परिचालन गर्ने तयारी गरिएको जनाएको थियो ।
मन्त्रीसहितको टोली दुर्घटनास्थलमा
बिहीबार बिहान पर्यटनमन्त्री पाण्डे सहितको टोली एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर बुधबार दुर्घटना भएको स्थान नानुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरको स्थलगत निरीक्षणमा पुगेको छ ।
मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको समूहलाई लिएर मन्त्री पाण्डे दुर्घटनास्थलमा पुगेका हुन् ।
मन्त्री पाण्डेले बुधबार नै दुर्घटनास्थल मा जाने तय भएकोमा हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक तय भएको तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हवाई सुरक्षा लगायतका विषयमा छलफल गर्ने तय भएकाले संभव भएको थिएन ।
मन्त्री पाण्डेको सचिवालयले बुधबार राती एक प्रेस नोट जारी गर्दै यस अघि तय भएका सबै औपचारिक कार्यक्रम एक साताका लागि स्थगित गर्ने तथा आति आवश्यक बाकहेकका भेटघाट बन्द गरी हवाई सुरक्षाका विषयमा चाल्नु पर्ने तत्कालीन तथा दीर्घकालीन काममा केन्द्रित हुने बताएको थियो ।
बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरका क्याप्टेन अरुण मल्ल, चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु गरी ५ जनाकाे मृत्यु भएकाे थियाे ।

