काठमाडौँ । पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिन गराइएको निर्णयमार्फत आर्थिक अपचलन गरेको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएपछि थुनछेक बहस सुरु भएको छ। इजलासमा मोबाइल लैजान निषेध गरिएको छ भने पत्रकारहरूलाई पनि खानतलासी गरी प्रवेश दिइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड बिगोसहित दायर गरेको मुद्दामा नेपालमाथि पतञ्जलिलाई गैरकानुनी रूपमा ३५३ रोपनी जग्गा खरिद र बिक्री गर्न दिने निर्णय गराएको आरोप छ। आयोगले यो निर्णय नीतिगत नभई प्रशासनिक भएको भन्दै नेपाललाई प्रतिवादी बनाएको हो।
नेपालका तर्फबाट ८ जना कानुन व्यवसायी बहसमा सहभागी हुने तय भएको छ भने अख्तियारको तर्फबाट सहन्यायाधिवक्ता मोहन सागर बस्यालसहितको टोलीले बहस गर्नेछ।
यो मुद्दा १३ वर्ष पुरानो जग्गा छुटसम्बन्धी निर्णयलाई लिएर उठाइएको हो, जसमा पतञ्जलिले शैक्षिक र औद्योगिक प्रयोजनको नाममा प्राप्त जग्गा व्यापारिक प्रयोजनमा बेचेको पाइएको अख्तियारको दाबी छ।
भूमिसम्बन्धी ऐनअनुसार सर्तविपरीत हदबन्दी छुटमा प्राप्त जग्गा बिक्री गर्न नपाइने भए पनि तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गराई उक्त प्रक्रिया अघि बढाइएको आरोप छ।

