२०८३, आश्विन १९ गते

images

साल्ट ट्रेडिङलाई सफल संस्थाका रुपमा चिनाएँ, बैंकको जागिर छोडें : उर्मिला श्रेष्ठ (अन्तर्वार्ता)

साल्ट ट्रेडिङलाई सफल संस्थाका रुपमा चिनाएँ, बैंकको जागिर छोडें : उर्मिला श्रेष्ठ (अन्तर्वार्ता)

शुक्रवार, आषाढ १३ २०८२१०:१५
शुक्रवार, आषाढ १३ २०८२१०:१५
  • images


    उर्मिला श्रेष्ठ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी) की प्रमुख कार्यकारी अधिकृत हुन् । एसटीसीमा झन्डै ३८ वर्षको अनुभव भएकी उनले विभिन्न पदहरूमा बसेर काम गरेकी छन् । कम्पनीमा अधिकृत भएर प्रवेश गरेकी उनै श्रेष्ठ  २००७ देखि सीईओ पदमा कार्यरत छिन् । सीएनएन खबरले सीईओ श्रेष्ठसँग महिला सीईओ भएर काममा खेप्नुपरेको चुनौती, साल्ट ट्रेडिङ कर्पाेरेशनको आगामी रणनीति लगायत विषयमा केन्द्रीत भएर कुराकानी गरेका छ । प्रश्तुत छ उनीसँग गरेको कुराकानीको सम्पादित अंश ।

    एक महिला सीईओको रूपमा तपाईंको नेतृत्व यात्रामा सबैभन्दा ठूलो चुनौती के रह्यो, र त्यो कसरी पार गर्नुभयो ?

    चुनौतीको कुरा गर्ने हो भने जेन्डर बायसनेस हाम्रो समाजमा नभएको चाहीँ होइन । तर, मेरो परिवारमा मैले त्यस्तो केही भोग्नु परेन । म दोस्रो पुस्ता भैसकेको थिएँ । म भन्दाअघि मेरो माइली मुमा सुशीला सिंह ‘सिलु’ सर्वोच्च अदालतको प्रथम महिला न्यायाधीश भइसक्नु भएको थियो । माइली मुमासँगै साइँली, कान्छी मुमा पनि जागिरे हुनुहुन्थ्यो । मेरो माइतीमा सबै महिलाहरु काम गर्नुहुन्थ्यो । तर, घरमा त्यस्तो थिएन । महिलाले काम गर्ने चलन थिएन । मैले काम सुरु गरेपछि मभन्दा तल्लो तहका पुरुष साथीहरु मेरो अन्डरमा काम गर्न त्यत्ति रुचाउनु हुन्नथ्यो । महिलाको अन्डरमा बसेर काम गर्नुपरेको जस्तो उहाँहरुलाई भान भएको मैले बुझेकी थिएँ । उहाँहरुलाइ मेरो अन्डरमा काम गर्न असहज नहोस् भनेर मैले उमेर अनुसार कसैलाई दाइ, भाइ केहीलाई सर भनेर सम्बोधन गरेँ । पोस्टले आफूभन्दा सानो भएपनि मैले उहाँहरुलाइ काम गर्ने वातावरण सहज बनाउन दाइ भाइ भनेर सम्बोधन गरेँ । उहाँहरुभन्दा आफूलाई सानो बनाएर मैले काम गरेको हो । 

    कत्तिसम्म मेरो अनुभव छ भने, मलाई दुख दिने नियतले चिन्दै नचिनेको मान्छेले बोलाएको भनेर भन्ने गरेका थिएँ । म महिला भएकै कारण नचिनेकाहरुबाट काम गर्ने दौडानमा केही दुःख पाएँ । तर, मैले त्यसमा अल्झिएर बसिनँ । एक दिन म आफ्नो कार्यकक्षमा बसिरहेको थिएँ । नचिनेको एक जना व्यक्ति आउनुभयो । म सीईओ नहुँदै हो, त्यतिबेला म जीएम थिएँ । जीएमलाई पछि सीईओ बनाइएको हो । तपाईंको जीएमले बोलाउनुभएको छ भनेर आउनुभयो । मैले कहिले बोलाउनु भएको भनेर उहाँलाई सोधेँ । उहाँले मन्त्रालयमा भेट हुँदा अफिस आउनुस् भन्नुभएको थियो, त्यही भएर आएको उहाँलाई भेटाइदिनुस् भन्नुभयो । मैले उहाँलाई मै हुँ जीएम । ल भन्नुस् के काम छ हजुरको भनेँ । उहाँ छक्क पर्नुभयो । उहाँमा साल्ट टेड्रिङको जीएम भनेको केटा मान्छे हो भन्ने रैछ । म हुँ भनेपछि उहाँ केही नभनि फर्कनुभयो । 

    काम गर्ने क्रममा माओवादीको शसस्त्रयुद्ध चलिरहेको बेला मलाई हेटौँडामा खटाइयो । युद्ध चलिरहेको बेला, मेरो छोरा सानै थियो त्यतिबेला । तर, मलाई कम्पनीले जिम्मेवारी दिएपछि पूरा गर्नुपर्छ भनेर म निडर भएर कुनै पनि केटा साथी नगएको स्थानमा गएर काम गरेँ । मैले त्यो युद्धताका २ वर्ष हेटौँडामा नै बिताएँ । त्यतिबेला हेटौँडामा नेपाल बनस्पति ध्यू र खाद्य उद्योगका दुई फ्याक्ट्री थिए । त्यसको डीजिएम बनेर मैले काम गरेँ । मैले काम गर्ने बेला एउटा कम्पनीको सीईओ रिटार्यर हुनुभएको थियो भने एउटाको सीईओ बिरामी हुनुहुन्थ्यो । सीइओ बीनै मैले डीजिएम बनेर २ वर्ष बिताएँ । 

    अहिले धेरै महिला साथीहरु महिला हुँ भनेर अधिकारको कुरा गर्ने तर, कम्पनीले कुनै जिम्मेवारी दियो वा कतै खटायो भने महिला भएकै कारण पन्छिने प्रविधि व्यापक छ । मैले म आफू काम गर्दा म महिला हुँ भनेर कहिलै सोचिनँ । हामी सबै बराबर, पुरुष साथीहरुले गरेको काम गर्न हामी पनि सक्छाैँ भनेर मानसिकता बनाउनुपर्छ भन्छु म । म अफिसको एउटा कर्मचारी हुँ, अफिसले खटाएको ठाउँमा आफ्नो अनुकुलता अनुसार म जादिनँ भन्न मिल्दैन भन्ने कुरा मेरो हो । यही कारण नै मैले अहिलेसम्म काम गर्न सक्नुको मुख्य कारण नै यही हो जस्तो लाग्छ । मैले सक्दिनँ भन्नु हुँदैन । 

    म साल्ट टेड्रिङमामा काम गर्छु भनेर आएको होइन । मेरो पढाइ सकेपछि खाली समय थियो । त्यो समयमा म्यानेजमेन्टको तालिम लिने भनेर आएको हो । मेरो साथीहरुले एक महिना गरेर हुँदैन ३ महिना गर भने । ३ महिनापछि ६ महिना अनि १ वर्षसम्म तालिम लिएँ । त्यसपछि स्थायी भएँ । मेरो सुरुवाती लक्ष्य नै तालिम लिने थियो, जागिर खाने थिएन । यता तालिम सकियो । त्यही बेला मलाई स्ट्याण्डर चार्टड बैंकबाट पनि अफर आयो । मैले त्यहाँ अन्तरवार्ताका लागि जाँदा धेरै महिला नै महिला देखे, यहाँ महिला नै थिएनन, मैले केही गरेर देखाउनु थियो र बैंक छोडेर यता रोजेको हुँ । मैले तालिम लिँदा नै देखेको थिए कर्पाेरेशनको अवस्था । बैंकमा धेरै महिलाका बीच काम गर्ने कि चुनौतीको सामना गर्दै काम गर्ने भन्नेबीचमा मैले चुनौती रोजेँ । महिला कम भएको स्थानमा मैले केही गरेर चिनाउनुपर्छ भन्ने सोचेर नै काम सुरु गरे । सोचे अनुसार सफल भएर नै आज यो अवस्थामा आइपुगेको हुँ । 

    urmila shrestha.JPG

    नुन, चिनी, र खाना पकाउने तेलजस्ता अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन गर्दा कर्पोरेशनले कुन मुख्य रणनीति अपनाएको छ ?

    हामीले ६३ वर्षदेखि नुनको बिक्री वितरणको जिम्मा पाइरहेका छाैँ । म कम्पनीको जीएम (सीईओ हुनुभन्दा अघि) भइसकेपछि मैले सहरी क्षेत्रमा त आयोडिनयूक्त नुन बिक्री वितरण भैरहेको थियो । अहिलेको जस्तो सामाजिक सञ्जालको त्यति धेरै प्रयोग नै थिएन । मैले सुदुरपश्चिम, कर्णाली लगायतका दुर्गम तथा आंशिक दुर्गमका जिल्लाहरुमा धेरै डिपो खोलेँ । पहिला सदरमुकाममा मात्रै डिपो हुन्थ्यो, त्यसपछि मैले जिल्लाका अन्य स्थानमा पनि डिपो खोलेँ । अहिले बाजुरामा ५/६ वटा, दार्चुलामा ३, बझाङमा २/३, मुगुमा ३/४ वटा, जुम्लामा ३ वटा वटा डिपो सञ्चालनमा छन् । यी जिल्ला बाहेक अन्य दुर्गमका जिल्लामा २/३ वटा डिपो सञ्चालित अवस्थामा छन् । अहिले दुर्गम र आंशिक १७ वटा जिल्लामा ६३ वटा डिपो सञ्चालित अवस्थामा छन् । हामीले ती जिल्लामा अहिले ९ रुपैयाँमा एक किलो आडोडिनयुक्त भानु नुन बेच्छाैँ । सरकारले ढुवानीमा सवसिटी दिन्छ । हामीले अन्य जिल्लामा बिक्री गर्नेभन्दा न्यून मूल्यमा नुन बिक्री गरिरहेका छौँ । त्यही नुन हामीले शहरी क्षेत्रमा शक्ति नामबाट २०/२१ रुपैयाँमा बेच्छौँ । आयोनुन भर्खर प्रतिकिलो २६ रुपैयाँ भयो । 

    म हिड्दा कुलेश्वर क्षेत्रमा जहिलै झगडा भैरहेको देख्थेँ । कहिले फिल्डमा धनगढी तिर जाँदा पनि उस्तै देख्थेँ । रासायनिक मल लिन किसानहरु रातीदेखि नै लाइन लाग्ने गर्नुहुन्थ्यो । किसानलाई दुःख नहोस् भनेर हामीले धेरै पहल गर्यौं । अहिले हामीले ३० प्रतिशत रासायनिक मल ल्याउने जिम्मा पाएका छौँ । बाँकी ७० प्रतिशत कृषि सामग्री कम्पनीले ल्याउँछ । सबै अनुदानको मलले किसानलाई नपुग्ने भएपछि हामीले गैरअनुदानित मल पनि ल्याएर बिक्री गर्ने गरेका छाैँ । खरिदमा हामीले खरिद नियमावली नै फलो गर्नुपर्छ । हामीले खरिदको समय अलि थोरै राखेका छाैँ, जसका कारण केही सहज भएको छ । हाम्रो आवश्यकता अनुसार हाम्रो बोर्ड र विनियमावलीले तोकेको हुन्छ, सोही अनुसार हामीले तयारी गर्छौं । सार्वजनिक खरिद नियमावली अनुसार कृषि सामग्री कम्पनीले ४५ दिनको बोलपत्र आह्वान गर्छ, हामी त्यसलाई २१ दिनको राखेर बोलपत्र आह्वान गछौँ । 

    मलपछि हामीले बिउबिजनको बिक्री गर्छौं । हामीले अहिले किसानलाई गहुँको बिउ बिक्रीसँगै किसान फार्मिन पनि गर्दै आएका छाँै । फार्मिङबाट उत्पादन भएको गहुँ बिउका लागि राख्छौँ भने धेरै भएको गहुँ सव कम्पनीको रुपमा रहेको खाद्य उद्योग लिमिटेडलाई बेच्छाैँ । हामीले फार्मिनबाट उत्पादन भएको गहुँ किसानबाट लिन्छौँ, उहाँहरुलाई अन्त बिक्रीको झन्झट भएन र आवश्यक रासायनिक मलदेखि विउँसम्म हामीले दिदा सहज पनि भयो । अहिले हामीले पूर्वतिर उखु खेती पनि गरेका छौँ । विगतका दिनहरुमा न्यून मात्रामा खेति थियो भने अहिले दोब्बर बढी गरेका छौँ । हामीले मोरङ र सुनसरीमा उर्खु फार्मिङ गरेका छाैँ । जनक शिक्षा सामग्री र गोरखापत्र लिमिटेडमा हामीले नेपाली कागज उपलब्ध गराउने गरेका छौँ । हामीले नियमित रुपमा उपलब्ध गराएसँगै किताबको अभाव भएन । अघिल्ला वर्षहरुमा पढाई सुरु भएको आधा वर्षसकिन लाग्दा समेत किसान अभाव भयो भन्ने सुनिन्थ्यो, हामीले कागज दिन थालेपछि समयमै किताव उत्पादन भएर शैक्षिक सत्र सुरुहुनु अघि नै सम्बन्धीत विद्यालयमा किताब पुगिसकेको छ । हामीलाई कागजमा घाटा नै छ । तर, हामीले घाटा खाएर भएपनि समयमै कागज पुर्याउँदा धेरै विद्यार्थीको भविष्य बन्यो नि ।

    सरकारी र निजी क्षेत्रबीच समन्वय गर्न साल्ट ट्रेडिङले कसरी भूमिका खेलिरहेको छ ?

    यसमा हामी मात्रै होइन । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने डाइरेक्टरहरुले धेरै सहयोग गर्नुभएको छ । हामीले केही निर्णय लिनुपर्दा सरकारी, निजी क्षेत्रका प्रतिनिधिहरुको सहयोग लिएर नै गर्ने गरेका छाैँ। 

    साल्ट ट्रेडिङले हाल कुन–कुन वस्तुहरूमा प्राथमिकता दिएको छ ?

    हाम्रो ध्यान अहिले कृषि उत्पादन तर्फ छ । हामी नेपाल सरकारपछि पहिलो नम्बरमा छौँ गहुँको बिउ उत्पादन गर्ने । हामी जोडिएपछि अहिले बिउका लागि गहुँ आयात गर्नुपर्ने अवस्था अन्त्य भएको छ । गहुँसगै हामीले नुन, चिनी, चामल, दाल तथा गेडागुडी र तेल लगायतका वस्तुहरु बिक्री वितरण गर्दै आएका छाैँ । हामीले तोरीको तेलको कुटानी पिसानी समेत गर्दै आएका छाँै । हामीले हेटौँडामा रहेको नेपाल बनस्पति ध्यू उद्योगबाट पिसानी गरेर हामी आफैले बेच्दैँ आएका छौँ । कर्णालीमा उत्पादित कृषि प्रडक्टहरु बिक्री गर्छौं । हामीले मासु, चुरोट र मदिरा बिक्री वितरण गरेका छैनौँ, ती बाहेक अन्य सामग्रीहरु बिक्री वितरण गर्दै आएका छौँ । 

    urmila shrestha stc.jpg

    सरकारको आयात नीति र कर संरचनाले तपाईंहरूको व्यापारमा कस्तो प्रभाव पारेको छ ?

    आयात नीतिमा समस्या कृषिजन्य उत्पादनमा लगाइएको जिएसटी अथवा भ्याट नै मुख्य बाधकको रुपमा रहेको छ अहिले । हामी छिमेकी देश भारतले कृषिजन्य उत्पादनमा जीएसटी छैन । अब नेपालमा सबैमा भ्याट छ । नेपालमा ल्याउँदा भ्याटदेखि भन्सार शुल्क लाग्ने गरेको छ ।  हाम्रो भारतसँग खुला सिमान छ । भन्सार छलेर आएका वस्तु र भन्सारबाटै भित्र्याएका बस्तुको बजार एकै हो । त्यहाँ प्रतिस्पर्धा गर्दा धेरै गार्हो छ । चीनि आयातमा १३ प्रतिशत भ्याट र ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ । ४३ प्रतिशत शुल्क र आयकर तिर्दा कति जान्छ । हामीले बिक्री गर्ने चिनी र खुला सिमानाबाट भित्रिएको चिनी एकै बजारमा बिक्री भैरहेको छ । सरकारले जुन वस्तुको बिक्री राम्रो हुन्छ सोही वस्तुमा भ्याट र भन्सार लगाउँदा समस्या भएको हो ।

    स्थानीय उत्पादनलाई प्राथमिकता दिन कम्पनीले के उपायहरू अपनाएको छ ?

    अहिले स्थानीय उत्पादनलाई हामीले भन्दापनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्राथमिकतामा राखेको छ । यसका लागि उनीहरुसँग छुट्टै बजेट पनि छ । तर, हामीले मल, गहुँको बिउ दिएको किसानले उत्पादन गरेको उत्पादन लिन्छाैँ। हामीले सुरु गरेको किसान फार्मिङबाट उत्पादीत गहुँ हामी सबै लिन्छाैँ । बजारमा केही वस्तुको मूल्य आकाशियो भने हामीले केही भएपनि सहज होस् भनेर मूल्य घटाउनेतर्फ लाग्छौँ ।

    उपभोक्तालाई गुणस्तरीय सेवा दिन कम्पनीले के–कस्ता पहलहरू गरेको छ ?

    हामीले ठाउँ–ठाउँमा रहेका डिपोहरुबाट सेवा प्रवाह गर्दै आएका छौँ । अब हाम्रो तयारी ती डिपोलाई एसटीसी मार्ट बनाउने हो । अहिले हामीले त्यसको योजना बनाएका हौँ, अबको एक डेढ वर्षभित्र सिमित स्थानमा एसटीसी मार्ट सञ्चालनमा ल्याउँछाैँ ।

    नयाँ पुस्तालाई सार्वजनिक संस्थानको नेतृत्वमा प्रेरित गर्न तपाईंले के सन्देश दिनुहुन्छ ?

    सबैभन्दा पहिला म सक्षम छु भन्नुपर्छ जो कोहीले पनि । अनि शैक्षिक योग्यता कम्तीमा ब्याचलर्स हुनुपर्छ अनि काममा अनुशासित हुनुपर्छ । म मेरो आफन्त तथा नातेदारलाई आफ्नै कम्पनी तथा व्यापार भए पनि अरुको अफिसका काम गर्न पठाउँछु कम्तिमा एक वर्ष । बाउ साहुजी छोरा पनि साहुजी हुन्छन् नी फेरि । अरुको अन्डरमा काम गर्दाको अनुभव लिनुपर्याे । आफूभन्दा तलका अन्य कर्मचारीलाई हेप्ने प्रविधि छ नि । भनौँ साहुले कर्मचारीलाई भेदभाव गर्दा कस्तो अनुभव हुन्छ त्यो साइक्कोलोजी पढ्नुपर्छ भनेर अन्त काम गर्न जाउँ भन्छु म । 


    सीएनएन खबरको म्यागेजिनमा सम्पादित अंश ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend