पर्वत ।स्याङजा र गुल्मीको सिमानामा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता कालीगण्डकी नदीको बहाव बढेसँगै डुबानमा परेको छ। मनसुनले नदीको सतह बढाएपछि शिलासँगै नजिकको सत्तल, परिक्रमा स्थल र बाटो पनि डुबिसकेका छन्।
शिलाको संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन जाली पानीले पुरिएपछि दर्शनमा रोक लगाइएको छ। क्षेत्रका पुजारी, पण्डित विस्थापित भइसकेका छन् भने भक्तजन पनि दर्शन गर्नबाट बञ्चित बनेका छन्।
कालीगण्डकी र सेतीखोलाको बहावले सेतीवेणी बजार डुबानको जोखिममा परेको छ। स्थानीय व्यापारी र सर्वसाधारण चिन्तित छन्। तीन पालिकाले समन्वय गरी संरक्षणमा लाग्नुपर्ने बताइएको छ।

