काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टी नेतृत्वले निर्देशन दिए आफ्नो समिति सभापतिको पद छोड्न तयार रहेको बताएका छन्। शुक्रबार सानेपामा भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य समेत रहेका खतिवडाले यस्तो धारणा राखेका हुन्।
उनले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको विवादका कारण आफूलाई अनावश्यक विवादमा तानिएको बताउँदै पार्टीले भने अनुसार कदम चाल्न तयार रहेको बताएका छन्। “सभापतिको हैसियतमा मेरो पनि गल्ती छ भने पार्टीले बाहिर बस भन्नुभए म तयार छु,” खतिवडाले बैठकमा भने।
खतिवडाले विधेयकमा भएको छलछामको विषयमा समितिबाट छानबिन गरी निष्कर्ष ल्याउने निर्णयको पालना गर्न आफू इच्छुक रहेको पनि बताए। उनले पार्टीभित्र आरोप-प्रत्यारोपको प्रवृत्ति बढेको र यसले कार्यकर्ता तथा जनताको मनोबलमा असर पर्ने चिन्ता व्यक्त गरे।
“यो पद्धति कहाँसम्म जाने हो ? यदि आरोप-प्रत्यारोपमै सीमित रह्यौं भने जनता र कार्यकर्ताले के गर्नेछन् ?” खतिवडाले प्रश्न उठाएका छन्।

