काठमाडौं । नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई विशेष अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिलिङ सिस्टम अपग्रेडको प्रक्रियामा भ्रष्टाचारको आरोप लागेपछि विशेष अदालतमा उपस्थित भएकी पहाडीको बयान र थुनछेक बहसपछि यस्तो आदेश दिइएको हो।
न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बयान सकिएपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने निर्णय सुनाएको हो। गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दर्तासँगै उनी स्वचालित रूपमा पदबाट निलम्बनमा परेकी थिइन्।
यो प्रकरण नेपाल टेलिकमको सेवा तथा प्रणाली सुधारसँग जोडिएको संवेदनशील विषय भएकोले यसले सञ्चार क्षेत्रमै चर्चा उत्पन्न गराएको छ। अब मुद्दाको प्रक्रिया अगाडि बढ्दै जानेछ।

