एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा आएको विनाशकारी बाढीका कारण हालसम्म १०९ जनाको मृत्यु भइसकेको छ भने १६० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। राज्यका गभर्नर ग्रेग एबटले मङ्गलबार जानकारी दिँदै बेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।
सबैभन्दा बढी क्षति मध्य टेक्सासको केर काउन्टीमा भएको छ, जहाँ “फ्ल्यास फ्लड एली” भनेर चिनिने क्षेत्रमा मात्र ९४ जनाको ज्यान गएको पुष्टि गरिएको छ। तीमध्ये २७ जना केटीहरू र सल्लाहकारहरू रहेका छन्, जो गुआडालुपे नदी किनारको एउटा समर क्याम्पमा सहभागी थिए। बाढीले सुतिरहेका बेला क्याम्पका क्याबिनहरू बगाएको थियो।
गभर्नर एबटका अनुसार पाँच जना क्याम्पर, एक सल्लाहकार र क्याम्पसँग असम्बन्धित अर्को एक बालक अझै बेपत्ता छन्। “हाम्रो प्राथमिकता अझै हराइरहेका मानिसहरूलाई फेला पार्नु हो,” एबटले पत्रकार सम्मेलनमा भने।
अन्य काउन्टीहरूमा पनि बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको बताइएको छ। टेक्सास गेम वार्डन्सका बेन बेकरका अनुसार उद्धार प्रयासहरू चुनौतीपूर्ण भएका छन्, किनभने माटो, फोहोर र पानीका कारण हेलिकप्टर, ड्रोन तथा खोजी कुकुरहरूको प्रयोग कठिन भएको छ।
यसैबीच, छिमेकी राज्य न्यु मेक्सिकोको रुइडोसो क्षेत्रमा पनि आकस्मिक बाढीको आपतकाल घोषणा गरिएको छ। अमेरिकी राष्ट्रिय मौसम सेवा (NWS) का अनुसार त्यहाँको रियो रुइडोसो नदी २० फिट (६ मिटर) भन्दा माथि पुगेको छ र बाढीले घरहरूमा क्षति पुर्याएको छ।
अधिकारिहरूले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको जनाएका छन्।

