काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। आज बजार २३.९९ अंकले बढ्दै २७०७.८५ विन्दुमा पुगेर बन्द भएको हो।
बजारमा उत्साह देखिएसँगै कारोबार रकममा समेत वृद्धि भएको छ। आज सबैभन्दा बढी कारोबार राधी विद्युत कम्पनीको सेयरमा भएको छ। कम्पनीको ४६ करोड ७१ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
दोस्रो स्थानमा बुटवल पावर कम्पनी रहेको छ, जसको ३६ करोड ६७ लाख ४९ हजार रुपैयाँको सेयर कारोबार भएको छ।त्यसपछिका शीर्ष कारोबारकर्ता कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर (३५ करोड १८ लाख २२ हजार), गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (३१ करोड ८५ लाख १९ हजार) र नेपाल रिइन्स्योरेन्स कम्पनी (२८ करोड ४१ लाख ५३ हजार) रहेका छन्।
लगानीकर्ताहरूको विश्वाससँगै बजारमा हरियाली देखिएको हो। बजार विश्लेषकहरूका अनुसार आगामी दिनमा सूचक अझै स्थिर रूपमा उकालो लाग्ने अपेक्षा गरिएको छ।

