काठमाडौं । गृह मन्त्रालयले मंगलबार चार जना सहसचिवको सरुवा गर्दै प्रशासनिक फेरबदल गरेको छ। गृह प्रवक्तासमेत रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ। हालसम्म अध्यागमन विभागको नेतृत्व सम्हाल्दै आएका गोविन्दप्रसाद रिजाललाई भने गृह मन्त्रालय फिर्ता बोलाइएको छ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि गृह मन्त्रालयमा तानिएको छ।
खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नरहरि घिमिरेलाई अब त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुखको जिम्मेवारी दिइएको छ।
गृह मन्त्रालयले कल्पना श्रेष्ठलाई खोटाङको नयाँ प्रमुख जिल्ला अधिकारी तोकेको छ। मन्त्रालय स्रोतका अनुसार प्रशासनिक दक्षता र प्रभावकारिता बढाउने उद्देश्यले सरुवा गरिएको हो।

