काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि सेयर बजारमा ‘अड लट’ कारोबार सजिलो भएको छ। नेप्सेले बिहीबारदेखि आफ्नो वेबसाइटको मार्केट डेप्थमा ‘अड लट’ कारोबारका आदेश देखाउने व्यवस्था लागू गरेको छ।
यसअघि अंकित मूल्य १०० भएका कम्पनीमा १ देखि ९ कित्तासम्मको सेयर आदेश देखिँदैनथ्यो भने अब यी साना परिमाणका अर्डर पनि मार्केट डेप्थमा सजिलै हेर्न सकिने भएको छ। यसले लगानीकर्ताले साना मात्रामा सेयर किनबेच गर्न पाउने अवसर बढाएको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ‘पहिले पनि अड लट सेयर किनबेच गर्न सकिन्थ्यो तर मार्केट डेप्थमा देखिँदैनथ्यो, अब देखिएपछि कारोबारमा धेरै सहजता हुनेछ।’
धितोपत्र कारोबार विनियमावली २०७५ अनुसार अंकित मूल्य १० का लागि १०० कित्ता, १०० का लागि १० कित्ता र १ हजारको लागि १ कित्तासम्मको कारोबार ‘अड लट’ मानिन्छ।
अड लट कारोबारले कम्पनीको मूल्य र बजार सूचकमा असर नपर्ने पनि प्रवक्ताले जानकारी दिए। अब लगानीकर्ताले नेप्सेको वेबसाइटमा गएर ‘अड लट’ आदेश हेरेर आफ्नो ट्रेडिङ सिस्टममार्फत आदेश म्याच गराएर सानो परिमाणमा पनि सेयर किनबेच गर्न सक्नेछन्।

