काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा उल्लेख्य वृद्धि भएको छ। आज नेप्से सूचक ७९.८२ अंकले बढेर २८७४.६० बिन्दुमा पुगेको छ।
यसअघि मंगलबार ३४.४६ र बुधबार ३४.६१ अंकले बढ्दै सूचक २७९४.७८ बिन्दुमा पुगेको थियो। लगातार तीन दिनको उकालो यात्रासँगै नेप्से करिब ८ वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो।
आजको कारोबारमा सूचीकृत २४८ कम्पनीमध्ये २३९ कम्पनीको सेयरमूल्य बढेको छ भने ९ कम्पनीको मूल्यमा मात्र गिरावट आएको छ। बजारमा रहेका सबै १३ वटा उपसमूहको सूचक सकारात्मक रहेका छन्।
नेप्से सूचकमा व्यापक उछाल आउँदा ट्रेड टावर लिमिटेड, शुभम पावर लिमिटेड र थ्री स्टार पावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ।
आजको कारोबार रकम पनि उल्लेखनीय छ। कुल कारोबार १६ अर्ब ५९ करोड रुपैयाँ नाघेको छ। सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ, जसको ८४ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड पुर्याएको छ। यो नीतिगत परिवर्तनले सेयर बजारमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ।
बजारमा देखिएको यो सुधारले लगानीकर्तामा नयाँ आशा पलाएको छ। साथै, आर्थिक वर्षको सुरुवातमै देखिएको उत्साहजनक संकेतले बजारमा स्थायित्व आउने अपेक्षा गरिएको छ।

