काठमाडौं । वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन, सुधार प्रयास र आगामी योजनाहरू सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत विभागले आफ्ना उपलब्धिहरू र भावी कार्यदिशा सार्वजनिक गरेको हो।
विभागका अनुसार ‘वर्क पर्मिट अन द सेम डे’ प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएको छ। यसअन्तर्गत रितपूर्वक पेश गरिएका अनलाइन दरखास्त फारमहरू आवेदनकै दिन स्वीकृत गरिन्छ। यदि दरखास्तमा कुनै कमी भएमा एसएमएसमार्फत तुरुन्त सूचना दिइने र आवश्यक कागजात पेश भएलगत्तै स्वीकृति दिने व्यवस्था लागू गरिएको विभागले जनाएको छ।
८ लाख ३९ हजार श्रमिकले पाए श्रम स्वीकृति
आर्थिक वर्ष २०८१/८२ मा कुल ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये ७ लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिला रहेका छन्। सर्वाधिक श्रमिक गएका शीर्ष १० गन्तव्य मुलुकहरूमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, कोरिया, कोरेसिया र बहराइन परेका छन्।
शून्य सहनशीलता नीति, विचौलिया मुक्त सेवा
विभागले शून्य सहनशीलताको नीति अंगीकार गर्दै सेवाबाट विचौलियालाई पूर्णरूपमा हटाएको जनाएको छ। हरेक युजरको कार्य विवरण विश्लेषण गरिने र प्रणाली सञ्चालकको निर्णयमा पृष्ठपोषण लिनेदेखि लिएर सबै प्रक्रिया पारदर्शी बनाइएको छ।
पीडितमैत्री कार्यशैली, सम्पर्क सहज
वैदेशिक रोजगारीमा उत्पन्न समस्या र गुनासोहरू तुरुन्त सुनुवाइ गरी व्यवसायी र पीडितबीच छलफलबाट समाधान गरिने गरिएको छ। विगतका सबै उजुरी फर्छ्योट भइसकेको जानकारी दिँदै विभागले महानिर्देशकसहितका जिम्मेवार अधिकारीहरूको सम्पर्क नम्बर सार्वजनिक गरी प्रत्यक्ष सम्पर्क गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।
आगामी योजना
विभागले आगामी कार्यदिशामा वैदेशिक रोजगारसम्बन्धी कानुन संशोधन, श्रम स्वीकृति प्रक्रिया सरलीकरण, लागत र समय घटाउने, प्रविधिको प्रयोग विस्तार, श्रमिक प्रतिस्पर्धा क्षमतामा वृद्धि, आकर्षक श्रम गन्तव्यमा पहुँच, दुईपक्षीय सम्झौता विस्तार, सीपमूलक जनशक्तिको प्रवर्द्धन, अनुचित क्रियाकलापको नियन्त्रण र प्रभावकारी अनुगमनलाई प्राथमिकतामा राख्ने जनाएको छ।
विभागको पछिल्लो पीडितमैत्री कार्यशैलीप्रति सेवाग्राहीहरूले प्रशंसा गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

