काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेप्से ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८७ अंकले घटेर २८६७.७६ बिन्दुमा पुगेको हो। बजारको शुरुवाती चरणमा उकालो लाग्दै सूचक २९२२.८४ बिन्दुसम्म पुगेको थियो। तर कारोबारको अन्त्यतिर दबाबमा पर्दै सूचक ओरालो लागेर अन्ततः घटज्यानमै बजार बन्द भएको हो।
गत बिहीबारको तुलनामा आइतबार नेप्से थोरै घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। आइतबार नेप्सेमा २१ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जुन अघिल्लो कारोबार दिन बिहीबारको १६ अर्ब ३० करोडको तुलनामा झण्डै ५ अर्ब रुपैयाँले बढी हो।
यसअघिका दुई कारोबार दिनमा नेप्से सूचकमा क्रमशः ३४/३४ अंकको वृद्धि देखिएको थियो भने बिहीबार मात्र सूचक ७५.८४ अंकले उक्लिएको थियो। विश्लेषकहरूका अनुसार बजारमा तरलता, लगानीकर्ताको मनोविज्ञान, राजनीतिक स्थायित्व र आगामी मौद्रिक नीतिप्रतिको अपेक्षाजस्ता तत्वहरूले बजारलाई प्रभावित गरिरहेका छन्।

