काठमाडौँ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज ‘नाइन नोभेम्बर–अल्फा माइक इको’ १ वर्षको अबधिमा १८ पटक अत्यधिक पिच रेटमा उडान भएको पाइएको छ ।
कम्पनीको उडान म्यानुअल अनुसार प्रति सेकेन्ड ३ डिग्री सेल्सीएस हुनुपर्नेमा दुर्घटना हुँदा उक्त जहाजले ८ डिग्री सेल्सीएससम्म पिच रेट रहेको पाइएको हो । जहाज दुर्घटनामा संलग्न प्रमुख पाइलट मनीषरत्न शाक्यले २०८० चैत ११ गतेको उडानका क्रममा पनि जहाजलाई ५ दशमलव ५ डिग्री प्रति सेकेन्डको गति (रोटेसन स्पिड) मा उठाएका थिए ।
जहाज दुर्घटनापछि गठन भएको जाँचबुझ आयोगले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार उक्त जहाजले एकै वर्ष १८ पटक अत्यधिक पिच रेटमा उडान गरेको पाइएको हो ।
आयोगले सो जहाज सन् २०२३ देखि २०२४ सम्म १८ पटक यसरी अत्यधिक पिच रेटमा पाइलटहरुले उडान गरेको फेला पारेको थियो । उक्त १८ पटक अत्यधिक पिच रेट हुँदा जहाज उठाउने गति ८ डिग्री प्रति सेकेन्डसम्म रहेको प्रतिवेदनले भनेको छ ।
‘सबैभन्दा बढी गति सन् २०२४ जनवरीमा ५ दशमलव ८ डिग्री प्रति सेकेन्ड रहेको पाइयो । जसमा हालको दुर्घटनामा संलग्न पाइलटको अघिल्लो घटना दोस्रो उच्च दर भएको थियो’, प्रतिवेदनमा लेखिएको छ ।
उक्त आयोगले सौर्य एयरलाइन्सका अरू उडानमा पनि तोकिएको मापदण्डभन्दा बढी ‘पिच रेट’ मा जहाज उडाउने गरेको बताएको छ ।
सौर्य एयरलाइन्सका पाइलटका तर्फबाट नियमित जसो भइरहेको मापदण्ड उल्लंघन र हेलचेक्र्याइँ त बताउँछ नै, सौर्य एयरलाइन्स स्वयंको हेलचेक्र्याइँ प्रस्ट देखिएको प्रतिवेदनमा भनिएको छ ।
बीना योजना फेरि फ्लाइट
२०८१ साउन ९ गते त्रिभुवन विमानस्थलभित्रै दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान आकस्मिक नभई शृंखलाबद्ध कमजोरीको परिणाम भएको अध्ययन प्रतिवेदनले प्रस्ट पारेको छ ।
त्यस दिनको ‘फेरि फ्लाइट’ (गैरव्यावसायिक उडान) को योजना, तयारी र सञ्चालनमा पनि लापरबाही भेटिएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग फेरि (गैरव्यावसायिक) उडानको अनुमति दिने प्रक्रिया स्पष्ट नभएको देखिन्छ । शृंखलाबद्ध कमजोरीमा संलग्न संस्था र निकायलाई जवाफदेही बनाउनु र आवश्यकताअनुसार कारबाहीको दायरामा ल्याउन सक्दा आगामी दिनमा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ । दुर्घटनाको जाँचबुझ र प्रतिवेदनको मूल उद्देश्य पनि त्यही हो ।
विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न पोखरातर्फ उड्न खोजेको ५० सिट क्षमताको क्यानेडियन ‘बमबार्डियर जेट सीआरजे–२००’ विमान धावनमार्ग छाडेको चार सेकेन्डमै दुर्घटनामा परेको थियो । जसमा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । हाल उनी ‘ग्राउन्डेड’ नै छन् । सौर्य एयरलाइन्सलाई व्यावसायिक उडानमा रोक नै लगाइएको छ ।
मृत्यु हुने १८ मध्ये सौर्यका १२ जना इन्जिनियर र प्राविधिक थिए । उक्त उडान ६ हजार १ सय ८५ घण्टा उडान अनुभव भएका शाक्यले गरेका थिए । दुर्घटना भएकै दिन सरकारले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको हो ।
प्रतिवेदनले पाइलटका कमजोरी, सौर्य एयरलाइन्सको लापरबाही र हवाई यात्रालाई सुरक्षित राख्न विकास गरिएका मापदण्ड लागू गराउन नसक्ने नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको कमजोरीलाई उजागर गरेको छ ।
अन्तिम आवरमा फाइलट पुगे
फेरि फ्लाइटको तयारी गरेको सो जहाजका क्यापटेन जहाज उड्ने अन्तिम समयमा ककपिटमा पुगेको प्रतिवेदनमा उल्लेख छ । बीमा कुनै तयारी हुनु र जहाज उड्नुअघि अन्तिम समयमा पाइलट नै ककपिटमा बस्नुले समेत दुर्घटना भएको जनाईएको छ ।
जहाजको को पाइलटले बताए अनुसारको म्यानुअल चेक गर्दा समेत उक्त दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीसँग छैन् फ्लाइट डाटा मोनिटरिङ सिष्टम
लामो समयदेखि उडान गर्दै आएको कम्पनीले उडानका क्रममा आवश्यक पर्ने फ्लाइट डाटा मोनिटरिङ सिष्टम नै जडान नगरेर गम्भीर लापरबाही गरेको भेटिएको छ ।
एउटै जहाजमा १ वर्षको अबधिमा १८ पटकभन्दा बढी एकै गल्ती दोहोरिदा समेत उक्त सिष्टम जडान नगर्नु स्वयम कम्पनीसँगै क्यानको समेत वेवास्ता रहेको प्रतिवेदनमा उल्लेख छ । अन्य वायुसेवा कम्पनीले उक्त कार्यक्रम चलाइरहँदा सौर्य लगायत केही कम्पनीले नराखेको पाइएको छ ।
अन्य कम्पनीले जहान गरेको फ्लाइट डाटा मोनिटरिङ सिष्टमबाट पाइलट तथा को पाइलटले उडानका क्रममा गरेको गल्ती सेफ्टी डिपाटमेन्टले मोनिटरिङ गरिरहेको पाइएको छ । पाइलटले आफूले गरेको गल्तीको जानकारी नगराएपनि सिष्टमबाट जानकारी हुने गर्छ ।
तर, सौर्य एयरलाइन्सले भने कम्पनीले उक्त सिष्टम लागु गरेको जनाएको छ । दुर्घटनाको केही दिनअघि मात्रै उक्त सिष्टम जडान गरिएतापनि पूर्ण रुपमै कार्यान्वयनमा नआउँदै दुर्घटना भएको जनाईएको छ ।
कम्पनीका सेफ्टी विभागका प्रमुख विभेचन खनालले उक्त सिष्टम लागू गरिएतापनि पूर्ण रुपमा कार्यान्वयनमा नआउँदै दुर्घटना भएको बताए ।

