काठमाडौं । एनआईसी एशिया बैंकले सञ्चालक परिवारलाई प्रकाशित दरभन्दा बढी ब्याज दिएको र नियामक निर्देशनहरूको अवज्ञा गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले बैंकलाई नसिहत दिएको छ।
राष्ट्र बैंकको स्थलगत निरीक्षणपछि सार्वजनिक भएको प्रतिवेदनअनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल र रामचन्द्र संघाईलाई औपचारिक रूपमा यस्तो कार्य दोहोर्याउन नहुने स्पष्ट चेतावनी दिइएको हो।
राष्ट्र बैंकका अनुसार, बैंकले सञ्चालक, तिनका परिवारका सदस्यहरू र सम्बन्धित संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको पुष्टि भएको छ।
नियामक निर्देशन उल्लङ्घन
निरीक्षणको क्रममा बैंकले निम्न निर्देशनहरूको समेत पालना नगरेको पाइएको छ:
-कर्जा वर्गिकरण तथा नोक्सानी व्यवस्थापन
-पुँजीकोष तथा ब्याजदर सम्बन्धी जोखिम भार
-संस्थागत सुशासन
यस्तै, कर्जा सम्झौतामा ऋणीसँग स्पष्ट र पारदर्शी रूपमा ब्याजदर, किस्ता, कर्जाको प्रकार (स्थिर वा परिवर्तनशील) जस्ता महत्वपूर्ण जानकारी उल्लेख नगरिएको पाइएको छ।
बैंकले ब्याजदर परिवर्तनको सूचना ऋणीलाई नदिएको, साथै केही अवस्थामा ऋणीबाट बढी ब्याज असुल गरेको पनि देखिएको राष्ट्र बैंकले जनाएको छ।
चौथो त्रैमासको समीक्षा अन्तर्गत एनआईसी एशिया बैंक राष्ट्र बैंकको निगरानीमा परेको र बैंकलाई हालको चेतावनीलाई गम्भीरतापूर्वक लिन भनिएको छ। राष्ट्र बैंकले यस्ता गतिविधि निरन्तर दोहोरिएमा आवश्यक नियामक कारबाहीको संकेत समेत दिएको छ।

