काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले ४५ वर्षदेखि एमालेको पार्टी सदस्य रहँदै आएको बताएकी छिन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएकी हुन् ।
‘म विगत ४५ वर्षदेखि एमालेको पार्टी सदस्य हुँ । बीचमा पार्टीको सिफारिसमै राष्ट्रपति बनेको हुँ । राष्ट्रपतिबाट बाहिरिएपछि मैले पटक पटक भन्दै आएको छुँ, अब मेरो बाँकी जिवन देश र पार्टीका लागि । त्यही भएर म पार्टीमा फर्किएको हुँ । कसैले नचाहँदैमा मेरो सदस्यता खारेज हुँदैन’, उनले भनिन ।
उनले आफ्नो सदस्यता नवीकरण नभएको कुरा विज्ञप्ती मार्फत मात्र जानकारी पाएको बताईन । “सदस्य नवीकरण नगरेको कुरा पार्टीको विज्ञप्तिमार्फत थाहा पाएँ । नवीकरण भइसकेको सदस्यता विवादमा पार्न पर्ने विषय होइन । संविधानको धारा र विधानले छेक्दैन घाम जत्तिकै छर्लङग छ’, उनले भनिन् ।

