काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा भ्रष्टाचारसम्बन्धी छानबिन र अनुसन्धानमार्फत २९ हजार ७०३ उजुरी फर्स्यौट गरेको छ। आयोगले सो अवधिमा विशेष अदालतमा १३७ वटा मुद्दा दायर गरेको छ भने ७५३ जना प्रतिवादीविरुद्ध करिब ५ अर्ब ९७ करोड रुपैयाँ बिगो माग दाबी गरेको छ।
शुक्रबार सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनअनुसार, आयोगमा आर्थिक वर्ष २०८१/८२ मा विभिन्न माध्यमबाट २८,५९७ उजुरी प्राप्त भएका थिए। अघिल्लो वर्षबाट सरेका ८,४२९ उजुरीसमेत गरी आयोगमा कुल ३७,०२६ उजुरी परेका थिए। तीमध्ये ८०.२२ प्रतिशत उजुरी फर्स्यौट भएको आयोगले जनाएको छ।
उजुरी प्राप्त हुने प्रमुख माध्यमहरूमा वेबसाइटबाट १०,२४५, लिखित निवेदनमार्फत १०,१८०, इमेलबाट ८,४८८ र हुलाक सेवाबाट ५,५५५ उजुरी परेको आयोगले जानकारी दिएको छ। अन्य माध्यमबाट २,५५८ उजुरीहरू प्राप्त भएका थिए।
प्राप्त उजुरीमध्ये ३३.६९ प्रतिशत संघीय सरकारसँग, १२.४७ प्रतिशत प्रदेश सरकारसँग र ५३.८४ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छन्।
अख्तियारका अनुसार ६,७१५ उजुरी सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको छ भने ५८६ उजुरी कार्यान्वयनका लागि सुझावसहित सिफारिस गरिएको छ। समीक्षा अवधिमा आयोगले ८१ बैठक गरी १,४११ निर्णयहरू गरेको छ।
विशेष अदालतमा दायर १३७ मुद्दामध्ये ३७ घुस/रिसवत, ३६ गैरकानुनी लाभ, २७ नक्कली शैक्षिक प्रमाणपत्र, २३ सार्वजनिक सम्पत्तिको क्षति, ८ गैरकानुनी सम्पत्ति आर्जन र २ सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा रहेका छन्।
त्यसै अवधिमा विशेष अदालतबाट ३९५ मुद्दा टुंग्याइएका छन्, जसमध्ये ११९ मुद्दा सोही वर्षमा दायर गरिएका थिए। तीमध्ये ६७.२३ प्रतिशत मुद्दामा कसुर प्रमाणित भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
साथै, आयोगले सो अवधिमा सर्वोच्च अदालतमा २५१ पुनरावेदन र ५ पुनरावलोकनसम्बन्धी कार्यहरू अघि बढाएको छ।

