रुपन्देही । सरकारी छापको दुरुपयोग गरी नक्कली लालपुर्जा जारी गरेको अभियोगमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित दुई जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार दिउँसो अर्याल र कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित नक्कली कागजात निर्माण र लालपुर्जा जारी गर्ने कार्यमा संलग्न रहेको आशंकामा पक्राउ परेका हुन्। प्रारम्भिक अनुसन्धानमा सरकारी छापको दुरुपयोग भई फर्जी लालपुर्जाहरू बनाइएका देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ताले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। यस प्रकरणले सरकारी निकायमा हुने कागजात दुरुपयोग र भ्रष्टाचारमाथि पुनः चासो बढाएको छ।

